अर्थमन्त्रालयमा आगामी बजेटको तयारी, अत्यावश्यकबाहेकका भेटघाटका लागि नआउन मन्त्रालयको आग्रह
प्रकाशित मिति
२०८० चैत्र १९ गते, सोमबार ०२:०२
चैत्र १९, २०८० काठमाडौँ: अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेटको मस्यौदा लेखन सुुरु गरेको छ । मन्त्रालयले बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेकका भेटघाटका लागि नआइदिनका लागि आग्रह गरेको छ ।
शुक्रबार अर्थमन्त्री वर्षमान पुुनले मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति बनाएका छन् । अन्य सदस्यहरुमा रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा रहेका छन् ।
मन्त्रीसहित सबै कर्मचारीहरु बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने भएकाले अत्यावश्यक बाहेकका भेटघाटमा समेत रोक लगाएको मन्त्रालयले जनाएको छ ।
समितिले शनिबारबाटै बजेट लेखनको काम भने सुरु भइसकेको छ । हरेक वर्ष जेठ १५ गते अर्थमन्त्रीले संघीय संसदमा बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ । त्यसका लागि संघीय संसदका दुवै सदनमा बजेटका शिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहेको छ । गत फागुन १४ गते तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका शिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने भएकाले पहिल्यै समय लिएर मात्र मन्त्रालयमा आइदिन अनुरोध गरे । लोकतन्त्रमा सबै सरकारी निकाय जनताका लागि खुला हुने स्पष्ट गर्दै खत्रीले कामको चाप र संवेदनशीलताका कारण बजेट निर्माण अवधिभर भेटघाटको स्वरुपमा परिवर्तन गरिएको जानकारी दिए ।
०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा अर्थमन्त्रीले संघीय संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले गत १४ फागुनमा प्रतिनिधि सभा र राष्ट्रियसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । वर्तमान अर्थमन्त्री पुनले सोही प्रस्तावमा सांसदहरुका सुझाव समेटेका थिए । संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पारित भइसकेको छ ।







प्रतिकृया