• ८ असोज २०८३, बिहीबार
  • ९ः५७ राती

मन्त्री किराँतीका कारण नेपाल वायु सेवा निगमले झन् समस्या झेलेको खतिवडाको आरोप

प्रकाशित मिति

२०८० फाल्गुन १३ गते, आईतवार ०२:०२

फागुन १३, २०८० काठमाडौँ: सत्ता गठवन्धनभित्र रहेको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप लगाएका छन् ।

National Life

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्रीले जहाज किनेर झन् धरासायी बनाउन खोजेको टिप्पणी गरे ।

उनले नेपाल एयरलाइन्स ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको तर मन्त्री किन जहाज किन्न खोजिरहेका छन् भन्ने प्रश्न उठाए । निगमका चार वटा जहाजमध्ये दुई वटा न्यारोबडी र दुईवटा वाइडबडी अहिले घाटामा चलिरहेको भन्दै सांसद खतिवडाले आन्तरिक उडानका लागि ८ अर्ब रुपैयाँमा किनिएका ६ वटा चिनियाँ जहाज लिलाम गर्दा अहिले ३८ करोडमा पनि बिक्री हुन गाह्रो भएको स्मरण गराए।

Classic Tech Mobile
Classic Tech Desktop

निगममा हाल १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङ गरिएका झण्डै ८०० कर्मचारी रहेको भन्दै यत्रा कर्मचारी किन आवश्यक छ? भन्ने प्रश्न पनि गरे । ‘वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको छ। जसलाई हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको छ’, उनले भने।

मन्त्री किराँती लोकरिझ्याइँका काम गरेर आफूले असाध्यै सुधार गर्न लागेको भान पार्न खोजेको आरोप सांसद खतिवडाले लगाए ।

‘मन्त्रीज्यू, एउटा झाडु र क्यामेरा लिएर मन्त्रालय प्रवेश गरेर फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ’, उनले भने, ‘यसरी मुलुक कहाँ जाने हो? सस्तो पपुलिजमका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गरेर त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास गर्ने ?’

प्रतिकृया