विपिन जोशीको विनासर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने संसदीय समितिको निर्णय
प्रकाशित मिति
२०८० मंसिर १४ गते, बिहीबार ०४:२१
मंसिर १४, २०८० काठमाडौँ: अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हमासको बन्धनमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको विनाशर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले अन्तर्राष्ट्रिय समुदायसँग विनाशर्त रिहाइ गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिन जोशीको विनाशर्त अविलम्ब रिहाइको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गर्ने निर्णय भएको बताए ।
‘हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई बन्धक बनाएको भन्ने छ तर अहिलेसम्म जानकारी छैन । विपिन जोशीको विनाशर्त अविलम्ब रिहाइको लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिसँग आग्रह गरेका छौँ,’ सभापति यादवले भने, ‘नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनु हुँदैन ।’
समितिको बैठकले ६ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको पनि सभापति यादवले बताए । कार्यदलले समितिको प्राथमिकीकरणमा कुन विषयलाई कहिले टुंग्याउने भन्ने निस्कर्ष निकाल्ने उनी बताउँछन् ।
सभापति यादवको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यदलमा उदय शमशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवल शमशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल र सम्झना थपलिया सदस्य रहेका छन् ।
प्रतिकृया