• १८ भदौ २०८३, बिहीबार
  • ७ः१३ बेलुका

गृहमन्त्री श्रेष्ठलाई ओलीको प्रश्न : तपाईंको सुशासन रोक्न कुन विरोधी लागे ?

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ०२:४६

असोज १६, २०८० काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुशासन रोक्न कुन विरोधी लागेका हुन् भन्ने प्रश्न गरेका छन्।


प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ओलीले भने, ‘हिजो गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो। सुशासन अभियान चलाएको, त्यसलाई रोक्न संगठित रूपमा विरोधीहरू लागेका छन्, कुन विरोधी लागे तपाईंको सुशासन रोक्न?’

Kamana Sewa

भेपमा ल्याएको सुन र सय किलो सुन प्रकरण ढाकछोप गर्न गृहमन्त्री लागेको ओलीको आरोप छ।

Classic Tech Desktop

‘छानबिन समिति बनाऔं भन्दा एक महिनासम्म बनाउने नदिने, छानबिन गर्दा के बिग्रन्थ्यो महाशय तपाईंको? किन आत्तिनुभएको स्वतन्त्र र निष्पक्ष छानबिनसँग। अनि गफ दिनुहुन्छ हेटौंडा गएर,’ ओलीले भने।


सुशासन सरकारले निरन्तर कायम गर्नुपर्ने उनले बताए। ‘सुशासन भनेको सरकारको नियमित काम हो। सरकारले शान्ति सुरक्षा दिनुपर्छ, भ्रष्टाचार रोक्नुपर्छ, घुस रोक्नुपर्छ,’ उनले भने, ‘सुशासन सरकारको अभियान होइन, नियमित काम हो।’


प्रतिपक्षले सुशासन अभियान चलाउन नदिएको भन्ने गृहमन्त्रीको अभिव्यक्तिमा ओलीले आपत्ति जनाए। ‘प्रतिपक्षीले संगठित रूपले विरोध गर्‍यो भन्ने? म प्रश्न गर्न चाहन्छु- सुन विमानस्थलमा किन बरामद भएन, सिनामंगलमा किन बरामद भयो, गन्तब्यसम्म किन गइएन,’ उनले भने।


एक क्विन्टल सुन तस्करीमा संलग्न व्यक्तिलाई छाडिएको तर सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाण पत्र मुद्दामा हत्कडी लगाइएको ओलीको भनाइ छ। ‘सुशासनको अभियान भनेको यही हो, गृहमन्त्रीजी?,’ ओलीले प्रश्न गरे, ‘जे होस्, राजनीतिको अपराधीकरण गर्न खोजिएको छ।’

प्रतिकृया