• 6:57 pm

१०३ एन्टीबायोटिक औषधि प्रयोग नगर्न सरकारको निर्देशन

प्रकाशित मिति

२०८० आश्विन १ गते, सोमबार ०४:३४

असोज १, २०८० काठमाडौँ: सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए ।


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस गरेको छैन । उनले ती प्रतिजैविक औषधिको प्रयोग गर्न औचित्य नभएको समेत बताए । विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरुप प्रतिजैविक प्रतिरोधबाट हुने विरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ ।


विभागमा दर्ता भएका त्यस्ता प्रकारका प्रतिजैविक औषधिको कच्चा पदार्थ तथा प्राइमरी र सेकेण्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेश गर्ने र निर्णय मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधिको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि सो औषधिको थप आयात कार्य नगर्न अनुरोध गरिएको छ ।


यस्तै विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधि मौज्दात रहेका अवस्थामा भने छ महिनासम्म मात्र बिक्रीवितरण गर्न दिने विभागका महानिर्देशक ढकालले जानकारी दिए ।

प्रतिकृया