चिनियाँ राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण सोध्नुपर्छ : कांग्रेस सहमहामन्त्री महेन्द्र यादव
प्रकाशित मिति
२०८० भाद्र २० गते, बुधबार ०५:२५
भदौ २०, २०८० काठमाडौँ : नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । उनले भने,‘नेपालका लागि चिनियाँ राजदुतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, बास्तवमा यो नेपालमा यसले एक किसिमले तरंग ल्याएको छ । यो कुटनीतिक मयार्दाको विपरित हो । नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौं ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’
रिपोर्टर्स क्लब नेपालले आज (बुधबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले यस्तो बताएका हुन् । उनले भने, ‘चीनसँग पनि हाम्रो मित्रवत् व्यवहार छ। चिनियाँ राजदूत भनेको यहाँ दुई देशबीचको सम्बन्ध बलियो बनाउन आउनुभएको हो । तर, नेपालको अरू देशसँग सम्बन्ध बिगार्न उहाँलाई कसैले पनि अधिकार दिएको छैन् । उहाँले जुन बोल्नुभएको छ, नेपालको सार्वभामिकतामाथि हनन हो । नेपालीहरुलाई उहाँले अपमानित गर्नुभएको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदुतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पुर्याउने काम गर्न नहुने बताए । उनले भने,‘विद्युतको कुरा गर्दा हामीले यसपालि १० अर्ब निर्यात गरेका छौं । भारतसँग भने १७ अर्ब विजुली किनेका छौं । नेपालमा लोडसेडिंग भएको बेला भारतले सहयोग गरेको हो । भारत हाम्रो विशेष छिमेकी मुलुक हो । हामीबीच खुला सिमा छ । संस्कृति, खानपान, देवीदेवता लिएर सबै मिल्छन् । यही भएर विशेषखालको समबन्ध छ । यो सम्बन्धमा चिनियाँ राजदूतले यो अवरोध पुर्याउने काम गर्नुहुँदैन् ।’
उनले चिनियाँ राजदूतले नेपाल र भारतबीच भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाए । ‘उहाँले जुनखालको अभिव्यक्ति दिनुभयो, यो गलत हो । यो अविलम्ब रोकेर आईन्दा त्यस्तो काम नगर्न अनुरोध गर्दछु ।’–उनले भने । यादवले राजदूत सोङको उक्त अभिव्यक्तिबारे नेपाल सरकारले तत्काल स्पष्टीकरण सोध्नुपर्ने बताए । उनले भने,‘परराष्ट्र मन्त्रायलले यो मामलिामा राजदूतसँग स्पष्टीकरण लिनुपर्छ । जुनसुकै मुलुकका राजदूत आएर यस्तो भन्न मिल्दैन् । चिनियाँ राजदूत हाम्रो हेडमास्टर होईन । उहाँले हामीलाई पढाउने होईन । सिकाउने होईन ।’
नेपालको सबै देशसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै देशका राजदूतले आफूहरुलाई कुटनीतिक मामिलामा सिकाउने स्विकार्य नभएको उनको टिप्पणी थियो । उनले भने,‘कुटनीति हामीलाइ पनि थाहा छ । चिनियाँसँग कसरी सम्बन्ध राख्ने हामीलाई थाहा छ । हामीले चीनलाई केरुङ–काठमाडौं रेलमार्ग बनाईदेउ भनेका छौं । तर भएको छ त ? हामीले त अनुदान र फ्रि मा बनाउन भनेका छौं । पोखराको एयरपोर्ट चाहिने लागत भन्दा दुई गुणा बढिमा निर्माण भएको छ । अहिले त्यसको प्रयोग नै भएको छैन् । त्यसको पनि ऋण थपिएको थपिएै छ । ब्याज बुझाउन सकेका छैनौं ।’
उनले चीनले हालै जारी गरेको आफ्नो नक्शामा नेपालको चुच्चे नक्शालाई नराखेकोमा पनि आपत्ति जनाए । उनले भने,‘चीनले आफ्नो नक्शा जारी गर्यो, अरु देशको जमिन राखेर बनाउने होईन । हाम्रो चुच्चे नक्शा छ । संसद्ले पास गरेको छ । अहिलेसम्म चीनले किन त्यो चुच्चे नक्शा राखेन । चीनसँगका हाम्रा नाकाहरु कोभिडकै बेलामा बन्द भए । हामीलाई धेरै अप्ठ्यारो भएकोले राहत पाएनौं । तर, भारतबाट राहत पायौं । हामीलाई परेको बेलामा भारतबाट सहयोग भैरहेको छ । अब चिनियाँ राजदूतको हेडमास्टरीपना बन्द होस । पढाउने कोशिस नगर्नुहोस । सरकारले स्पष्टीकरण सोध्नुपर्छ । लिनुपर्छ ।’
उनले अहिलेको सरकारले भ्रष्टाचारको सवालमा कारबाही अघि बढाएकोमा खुशी व्यक्त गरे । तर, सरकारले आफ्नो मान्छे बचाउने र अरुलाई प्रतिशोध साँध्ने काम गरेको उनको आरोप थियो । उनले भने–‘सबैले भ्रष्टाचार नहोस भनेर चाहेका छन् । सबै सरकारले भ्रष्टाचारमा शून्य सहनसिलताको कुरा गरेका छन् । अहिलेको सरकारले आफ्नो मान्छे र अरुको मान्छे गरेको छ । मान्छे हेरेर कारबाही अघि बढाएको छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको बताए । उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाँणलाई फसाईएको छ । दोष केही पनि छैन् । जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ । सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन् । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भैरहेको छैन् ।’ उनले खाँण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे । उनले भने,‘बालकृष्ण खाँणमाथि कुनै जोहरी छैन् । कसैले पनि पैसा लिएको भनेर भनेको छैन् । प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन् । खाँणजीको खातामा कतै पनि अस्वभाविक रकम देखिएको छैन् ।’
यादवले बालकृष्ण खाँणको पालामा एक जना पनि नक्कली वा भुटानी शरणार्थी नेपालबाट अमेरिका नगएको जिकिर गरे । उनले भने,‘भुटानी शरणार्थीको सेटेलमेन्टको कुरा बरु बादल गृहमन्त्री भएकै बेलामा । क्याविनेटभित्रै एउटा समितिमा बादल, युवराज खतिवडा अर्थमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो । २०१६ पछि जान नमानेका भुटानी शरणार्थीहरुको लागि के गर्ने भनेर बरु हस्ताक्षर गरेका थिए । ती अहिले पनि बाहिर छन् । जसको सिग्नेचर छैन्, उ जेलभित्र छ । आज न भोलि अदालतले बालकृष्ण खाँणलाई न्याय दिन्छ । सबैले भनेका छन् कि उहाँ निर्दोष हो । उहाँ निर्दोष सावित भएर बाहिर आउने मेरो विश्वास छ ।’
उनले तत्काल सरकार परिवर्तन नहुने दाबी गरे । उनले भने,‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष नै जान्छ । पाँच वर्षसम्म योे गठबन्धन रहन्छ । प्रचण्डजी पछि अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ र त्यसपछि देउवाले नेतृत्व लिएर चुनाव गराउनुहुन्छ । यो गठबन्धन कायम रहन्छ । कांग्रेसले अरुसँग गएर सरकार बनाउँदैन् ।’
उनले कांग्रेसले गृहमन्त्री हटाउने एजेण्डा बनाएकै दिन गृहमन्त्री परिवर्तन हुने पनि दाबी गरे । तर, अहिले गृहमन्त्री हटाउनेबारे आफूहरुले कुनै इस्यु वा एजेण्डा नबनाएको उनको जिकिर थियो । उनले भने,‘गृहमन्त्री परिवर्तनको इस्यु हामीले राखेको दिन परिवर्तन हुन्छ । हामीले भनेको दिन गृहमन्त्री परिवर्तन हुन्छ । तर, उहाँले निश्पक्ष भएर काम गर्नुपर्छ । उहाँले कांग्रेसलाई पेल्ने शैली बदल्नुपर्छ ।’ उनले अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले बढिभन्दा बढि काम गर्नुपर्ने सुझाए । उनले भने,‘जनताले कांग्रेसलाई एक पटक एकल बहुमत दिनुपर्छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । उनले भने,‘चिनियाँ राजदूतले भारतसँगको हाम्रो अर्थतन्त्रको विषयलाई लिएर बोल्नुभएका कुराको म केही व्याख्या गर्न चाहन्छु । कुटनीतिक मान, मर्यादामा र यसको बुझाईमा एउटा राजदूतले अर्को देशको विषयमा नकारात्मक टिप्पणी गर्नुहुँदैन् । झन हामी त दुई वटा विशाल महान आर्थिक रूपले अथवा सबै प्रकारले विशाल देशका बीचमा छौं । नेपाल बडो संवेदनशील परिस्थितिमा कुटनीतिक हिसाबमा रहन्छ । हामीले पञ्चशीलको भावना लिएर हरेक कुरा गर्नुपर्छ । दुवै देशको बीचमा बराबर, सुमधुर सम्बन्ध र सहयोगको भावना, मान, मर्यादा आपसी कायम राख्नुपर्छ । यो हाम्रो आवश्यकत्ता र जरुरत हो ।’
उनले चिनियाँ राजदूतलाई कुटनीतकि मान र मर्यादामा रहेरमात्र कुरा गर्न चेतावनी दिए । उनले भने,‘म यही क्लबबाट म चिनियाँ राजदूतलगायत सबैलाई आह्वान गर्न चाहन्छु–कुटनीतिक मान, मर्यादामा रहेरमात्रै कुरा गर्नुहोस । हाम्रो सम्बन्ध हामी कुनै देशसँग बिगार्न चाहँदैनौं । नेपाल सरकारलाई पनि के आग्रह गर्न चाहन्छु भने कहीँ कतै त्यस्तो देखियो भने तुरुन्तै हामीले अब्जेक्शन र नोट पठाईहाल्नुपर्छ । कोही रिसाउला, कोही खुशाउला । कसले मन दुखाउला या हाम्रो योजना बिगार्ला भन्ने सोच्नुहुँदैन् । त्यस्तो गर्दै गयौं भने झनझन हामी खाल्डोमा पर्छौं ।’
सो क्रममा उनले चिनियाँ पक्षले तातोपानी नाका खोलेकोमा भने खुशी व्यक्त गरे । उनले भने,‘यो राम्रो पक्ष हो । कोभिडपछि चिनियाँ नाका बन्द थिए । अब विस्तारै खुल्ने क्रम सुरु भएको छ । यो राम्रो कुरा हो ।’ उनले मानसरोवरमा भारतीय मुलका यात्रीहरुलाई अप्ठ्यारो परिस्थिति चिनियाँ सरकारले गरेको टिप्पणी गरे । उनले भने,‘त्यसले नेपालको पर्यटन क्षेत्र र अझै सुदुरपश्चिम र मध्यपश्चिमको पर्यटन क्षेत्रमा ठूलो घात भएको छ । मेरो यही क्रममा चिनियाँ सरकार र राजदूतावाससँग अनुरोध छ–की हिल्साबाट प्रयोग हुने मानसरोवरका यात्रुहरुको लागि अझ त्यसमा प्रष्ट रुपमा भन्दा भारतबाट आउने हिन्दू धर्मालम्वीहरुको लागि पहिलेको जस्तो सहज वातावरण बनाईदिन अनुरोध छ ।’
राणाले भारतीय सरकार र नेपालस्थित् राजदूतावासलाई नेपाली सवारी साधन भारत जाँदा सुविधा दिन आग्रह गरे । उनले भने,‘भारतीय दूतावासलाई पनि पटक पटक अनुरोध छ, जस्तो सुविधा हामीले भारतीय वाहनलाई यहाँ दिएका छौं (नेपालभित्र) यो पञ्चायतकालबाटै दिएको हो । अहिले नेपाली वाहन भारतमा तीन महिनाको लागि ६ हजार भन्दा माथि पैसा तिर्नुपर्छ । हामीलाई यो व्यवहार किन भारतले गरिरहेको छ ।’
सो क्रममा उनले वर्तमान सरकारबारे आफूहरुले सुरुमा सफल भएको ठानेको स्मरण गराए । तर, अहिले आएर भ्रष्टाचारको छानबिन गर्दै जाँदा आफ्नो मान्छे बचाउन खोजिएको उनको गुनासो थियो । उनले भने,‘हामीलाई पनि यो सरकार सफल भएको ठानेका थियौं । जब भ्रष्टाचारको विषयको छानबिन नजिक आयो, अनुसन्धानरत प्रहरी अधिकृतलाई सरुवा गरियो । छानबिन अवरोध पार्न त्यसो गरियो । उहाँहरुले आफूले चाहेजस्तो छानबिन भएन । अदालतले पूर्व प्रधानमन्त्रीहरुलाई बयान लिन भन्यो, तर त्यसो गरिएन । सुन तस्करीमा पनि सबै मिलेका छन् । अहिलेपनि एक जना पूर्व आईजीपी भागेर अमेरिका पुगेको छ । सरकारले भ्रष्टाचारी समात्ने हो भने प्रहरी, प्रशासन, अख्तियार र सिआईबीलाई खुला छोड्नुपर्छ । स्वतन्त्रता प्रदान गर्नुपर्छ । अनुसन्धानकर्ता अधिकृतहरु सुरुवा गर्न खोज्नु भ्रष्टाचारीलाई बचाउन खोजेको हो ।’
नेता राणाले आफूहरु सरकारमा जाने कुरा हल्लामात्रै रहेको दाबी गरे । उनले भने,‘हामी सरकारमा जाने हल्ला मात्रै हो । यो आरोप लागेको छ । यसमा कुनै सत्यता छैन् । हामीले संसदीय समितिको सभापति पाएकोले यो हल्ला उठेको हो । हामीले पनि संसदीय समितिको सभापति लिने क्रममा बार्गेनिङ त गरेको छैन ? भनेर पनि नेतासँग सोध्यौं । तर, उहाँहरुले त्यस्तो नभएको बताउनुभयो । समिति भनेको संसद्को हो । एउटा समितिको सभापति पाएको हो ।’ उनले संघ र प्रदेश कतैपनि आफ्नो पार्टी सरकारमा सहभागी नजाने स्पष्ट पारे । उनले भने,‘हामीले अहिले सरकारमा जानेगरि छलफल गरेको पनि छैन् । जाने मनस्थितिमा पनि छैनौं ।’
कार्यक्रममा पूर्वराजदुत विजयकान्त कर्णले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ गतिविधि बढेको दाबी गरेका छन् । उनले भने,‘नेपालको विदेशी नीति सञ्चालन गर्ने नेपाल राज्य, नेपाल सरकार र नेपाली दल आँफै सक्षम छन् । हाम्रो सञ्चालनको तौरतरिकामा हामीले कसैलाई पनि टिकाटिप्पणी गर्न अधिकार दिएका छैनौं । हाम्रा प्रत्येक देश १८५ देशसँग दौत्य सम्बन्ध छन् । भारत र चीन हाम्रा दुई छिमेकीहरुसँग सुमुधर सम्बन्ध छ । केही वर्ष यता के देखियो भन्यो आफ्नो विषयवस्तुलाई, आफ्नो विषयमा उठेका प्रश्नहरुलाई प्रतिउत्तर दिनुभन्दा अरु मुलुकसँग नेपालको सम्बन्धमा मित्रराष्ट्र चीनका परराष्ट्रमन्त्री र राजदूतले बोल्न थाले । नेपालका लागि चिनियाँ राजदूतले आइतबार बोलेको कुरा मैले सुनेको थिइनँ ।
१९६० मा भारत र चीनबीचको युद्धको बेलामा पनि राजदूतहरुबीच नेपालमा पनि केही वाकयुद्ध भएको थियो कि भनेर हेरेको थिएँ । केही पनि भएको रहेनछ । त्यो बेलामा पनि उनीहरु बोलेनन् । सन् २०२० मा गल्वानमा चीन र भारतबीच युद्ध हुँदा यहाँ नेपालमा भएका भारत र चीनका राजदूतहरु कोही बोलेनन् । तर २०२०÷०२१ तिर जब हामीले एमसीसी एग्रिमेन्ट पार्लियामेन्टबाट अनुमोदन गर्न थाल्यौं, चीनको परराष्ट्र मन्त्रालय बोल्न थाल्यो । आइतबार जुन चिनियाँ राजदूतले बोल्नुभएको छ, त्यो अमर्यादित, अकुटनीतिक र एकदमै अनवारेन्टेड र यस्तो अनकल भन्छ अंग्रेजीमा । त्यस्तो किन उनले किन बोले ? मैले बुझ्न सकेको छैन् ।’
उनले चिनियाँ राजदूतको यस्तो अभिव्यक्तिको अर्थपनि केलाए । उनले भने,‘चिनियाँ राजदूतले तीन वटा कुरा गरे । पहिलो कुरा उनले वर्तमान प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई नेगेट गरे । अस्विकार गरे । नेपालमा विद्युत लगानी गर्न हाम्रो पाइभेट सेक्टर र निजी सेक्टरको कुरा हो, १० हजार मेगावाटको लागि अब, कमसेकम हामीे २० हजार मेगावाट विद्युत उत्पादन गर्नुपर्छ । त्यसको लागि अन्तर्राष्ट्रिय समूदायलाई नेपालले कल गरेको छ, त्यसमा उनले कमेन्ट गरेका छन् । तेस्रो कुरा उनले नेपालको निर्यात र आयातमा कमेन्ट गरेका छन् ।’
उनले सन् २०१९ को अक्टोबरमा नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणपछि चिनियाँ राजदूतहरुको गतिविधि नेपालको आन्तरिक राजनीतिमा सिधै प्रभाव पार्ने खालका गतिविधि देखिएको टिप्पणी गरे । उनले भने,‘दुई कम्युनिष्ट एक पार्ने कुरादेखि, यो भन्दा अगाडिको राजदूत राति १२ बजे राष्ट्रपतिलाई भेट्ने, विहान ७ बजे प्रधानमन्त्रीलाई भेट्ने, ९ बजे प्रचण्डलाई भेट्ने अनि १० बजे माधव नेपालालई भेट्ने काम भए । यस्तो खालको गतिविधि दुनियाँमा कहीँ देखिएको थिएन । चिनियाँ राजदुत र चिनियाँ नेताहरुको गतिविधि देखिएको थियो । हाम्रा नेताहरु चीन गएर आएपछि चीनले एक होउ भनेको कुरा गरेका छन् । यो पनि आन्तरिक मामिलामा हस्तक्षेप हो । भुकम्पको बेलामा रोकिएको तातोपानी नाका अवरोध भयो ।’
प्रतिकृया