सदनको अवरोधबारे राष्ट्रपतिको ध्यानाकर्षण गराए सभामुख र राष्ट्रियसभा अध्यक्षले
प्रकाशित मिति
२०८० श्रावण २६ गते, शुक्रबार १२:५९
२६ श्रावण २०८०, काठमाडौँ: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर संसद अवरोधबारे ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको भेटमा संसदको जारी अवरोधबारे हटाउनेबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलसँग आधा घन्टा छलफल गरेका थिए। भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन सभामुख र राष्ट्रियसभा अध्यक्षले खेलेको भूमिकाबारे जानकारी लिएका थिए ।
घिमिरे र तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपति पौडेलबाट सहयोगको अपेक्षा राखेका थिए। राष्ट्रिय सभा बैठक अहिले जारी छ भने प्रतिनिधि सभा बैठक दिउँसो एक बजे बस्दैछ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।








प्रतिकृया