• १६ असोज २०८३, शुक्रबार
  • ११ः२१ बिहान

‘अहिले नेताहरुले कुनबेला देश बेचिदिन्छन् भन्ने डरको अवस्था छ, त्यसैले देश बचाउनको लागि पनि राजा चाहिन्छ’ : धवलशमशेर राणा

प्रकाशित मिति

२०८० असार ३१ गते, आईतवार ०८:५०

३१ असार , २०८०, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणाले राष्ट्र अहिले लिकभन्दा बाहिर गएको टिप्पणी गरेका छन् ।हिजाे (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नर्फिने बताएका हुन् । उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानुपरेको प्रसंग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।

National Life

‘यो राष्ट्र लिकभन्दा बाहिर छ । सुबाटोमा निकटभविष्यमा अगाडि जाला भन्ने विश्वास पनि जनताले गुमाइसकेको छ । सदन राम्रोसँग चल्न सकेको छैन । न्यायालयको हालत त्यो छ । हाम्रो प्रशासनको हालत के छ भन्ने हामीलाई थाहा छ । राजनीतिको हालत के छ ?’ उनले भने,‘हामी सबैलाई थाहा छ । राजनीति गर्ने शीर्षस्थ नेताहरु जेलको कठघरामा जानुपरिरहेको छ । प्रशासन चलाउने उच्चस्तरका कर्मचारीहरु भ्रष्टाचारमा मुछिएर जेलमा गइराखेका छन् ।’


क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले देशमा रोजगारीको सम्भावना नै नरहेको पनि खराब स्थिति सुनाए । उनले देशको युवा पुस्ताले देशभित्र भविष्य नदेखेको कारण हाईस्कूल र प्लस टु लगत्तै विदेशिने सपना देख्नेगरेको पनि बताए ।
‘देशमा रोजगारीको आशै रहेन । हाईस्कूल पढ्नेवित्तिकै, प्लस टु पढ्नेवित्तिकै हाम्रा देशका बच्चाहरु कुन देशमा गएर के नोकरी गर्नेभन्दा अर्को भविष्य छैन । यो परिस्थितिमा आज देश छ,’– उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

देश हिजो कहाँ थियो र अब कता जाँदैछ भन्नेबारेमा राजनीति गर्ने नेताहरु अनविज्ञ रहेको पनि उनको भनाई छ । २०६२÷०६३ को जनआन्दोलन र गणतन्त्रपछि नेपाली जनता चढेको गाडी गन्तव्यमा पुग्नु पहिल्यै विग्रिसकेको उनको दाबी छ । उनले अहिलेको व्यवस्थामा जनता चिन्तित रहेको बताए ।

‘देश हिजो यहाँ थियो, आज कहाँ गइराखेको छ भन्ने हामीलाई थाहा छैन । यो सबैको बीचमा सकारात्मक कुरा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । गणतन्त्र आएपछि वा २०६२/०६३ को जनआन्दोलन पछि जुन गाडीमा नेपाली जनता चढे, त्यो गाडि गन्तव्यमा पुग्नुभन्दा पहिल्यै नै विग्रिसकेको छ,’– उनले भने ।


देशले ४६ हजार राजारानी पाल्न नसक्ने
संघीयता र गणतन्त्र पूर्णरुपले असफल भैसकेको उनको दाबी छ । सिंहदरबार गाउँ–गाउँमा आउँछ भनेपनि गाउँ–गाउँमा राजारानीमात्रै पुगेको उनको टिप्पणी छ । गरिब देशले ४६ हजार राजारानी पाल्न नसक्ने उनले बताए ।


‘गाडी थोत्रो भइसकेको छ । ड्राईभरमा विश्वास छैन । ड्राईभरले कहाँ पुर्याउला ? प्यासेन्जर आँत्तिसकेको छ, बस बिग्रिसकेको छ । अब नेपाली जनताले त्यो बिग्रेको थोत्रो बस, काम नलाग्ने बस परिवर्तन गर्ने कि नगर्ने ? प्रश्न गर्दै उनले भने,‘प्रश्न चाहिँ त्यहाँ छ । यो राष्ट्र असफल राष्ट्र भएको सबैले महशुस गरिसकेका छन् । जनताले आश गर्ने ठाउँनै छैन । अब यो परिस्थितिबाट बाहिर निस्कने कि ननिस्कने ?’


अहिले गाउँ–गाउँमा पुगेका ४६ हजार राजारानीले जनताको पक्षमा कुनै काम नगरेको र जनतालाई नटेरेको उनको आरोप छ । उनले देशमा अब परिवर्तन आवश्यक रहेको बताए । गणतन्त्र, यो संघीयता पूर्णरुपले असफल भएको उनको दाबी छ । ४६ हजार नेताहरुको पालन पोषण गरिब राज्यले गर्न नसक्ने उनको दाबी छ । अहिलेको संघीयता राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको उनको टिप्पणी छ ।


‘प्रदेशहरुको कामै छैन । भत्ता खुवाउने, राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको छ यो संघीयता । संघमा नेताहरुको खेलाँची भइरहेको छ । सरकार ढल्ने अनि ढलाउने र मन्त्री बन्ने र बनाउनेबाहेक अरु काम भइरहेको छैन,’–उनले भने ।


देशको माया राजालाई जति नेतालाई नहुने उनको दाबी छ । राजाले आफ्नो गद्दी जोगाउनका लागि पनि देशलाई माया गर्ने उनले बताए । ‘परिवर्तन गर्ने कि नगर्ने ? अगाडि बढ्ने कि नबढ्ने ? कि यो गरिब देशलाई यस्तै छाड्ने ? नचलेको व्यवस्था, नचलेको गाडी, फाटेको लुगा फेर्ने कि नफेर्ने ? यो गणतन्त्रलाई चलाइराख्ने कि परिवर्तन गर्ने ?’ भन्ने प्रश्न गर्दै उनले भने,‘हामीले प्रष्ट भीजन लिएर अगाडि बढेका छौं । यो देश दुई हजार वर्षबाट कुनै न कुनै प्रकारको राजसंस्थाले चलेको देश हो । राजाले आफ्नो गद्दीको लागि पनि देशलाई बचाइराख्छ ।’


अहिले नेताहरुले कुनबेला देश बेचिदिन्छन् भन्ने पनि डरको अवस्था रहेको उनको आरोप छ । नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नसक्ने, आफ्नो रातो पासपोर्ट बेच्ने र सरकारी जग्गाजमिनसमेत हड्पिने नेताहरुले देश नबेच्लान भनेर विश्वास गर्न नसकिने उनको दाबी छ ।


हरेक पाँच वर्षमा एउटा राष्ट्रपति निवर्तमान हुने बताउँदै उनले निवर्तमान भएका पूर्वराष्ट्रपतिको पालनपोषण जिन्दगीभर गर्न यो देशले अब त्यो व्ययभार धान्न नसक्ने उनले बताए । अहिलेसम्मका तीनै जना राष्ट्रपति देशको भन्दा पनि पार्टी र व्यक्तिविशेषको भएको उनको आरोप छ । संघीयता र गणतन्त्रको अन्तिम विकल्प राजसंस्था पुनस्र्थापना भएको उनले बताए ।

‘राजा सबैको साझा हो । सबै नेपाली जनताले मानेको राजसंस्था हो । अहिले राष्ट्रपतिको जुन क्रियाकलाप देखियो, अहिलेकोमात्रै होइन, तीनवटै राष्ट्रपतिको क्रियाकपाल पार्टीको राष्ट्रपति, पार्टीभन्दा पनि व्यक्तिको राष्ट्रपतिसम्म देखियो,’–उनले भने ।


राष्ट्रिय प्रजातन्त्र पार्टीले देश चलाउने र राजनीति गर्ने राजालाई पुनस्र्थापना गर्न नखोजेको उनको भनाई छ । राष्ट्रपतिले राष्ट्रप्रति देखाउनुपर्ने बफादारिता, इमानदारिता र अभिभावकत्व देखाउन नसकेकाले आफूहरुले देशको अभिभावकको रुपमा राजालाई चाहेको उनको भनाई छ । देशको हितमा नभएको कुराहरुलाई देशको हितमा छैन भनेर अडान लिनसक्ने राजाको परिकल्पना राप्रपाले गरेको उनको दाबी छ । सबै राजनीति र नेतालाई एक ठाउँमा राखेर देशलाई अभिभावकको रुपमा राजा चाहेको उनले बताए ।


धर्मनिरपेक्षता नेपाली जनताको माग नभएर विदेशीको इशारामा त्यो आएको उनको दाबी छ । धर्मनिरपेक्षताको बारेमा जनआन्दोलनमा जनताले कुरै नउठाएको उनको दाबी छ । ८० प्रतिशत जनता हिन्दू भएको देशमा किन धर्मनिरपेक्षता लादियो भन्ने कुरा पनि जनताले बुझिसकेको र अब हिन्दुराष्ट्र पुनस्र्थापना भएरै छाड्ने उनको दाबी छ ।


‘यो देशमा हिन्दुराष्ट्र फर्काउने हो । जनताले मौका पाए भने हिन्दुराष्ट्र पुनस्र्थापना हुन्छ । यो व्यवस्था र नेताहरुको अकर्मण्यताले राजा पनि आउनुपर्ने अनिवार्य स्थिति बनिसकेको छ,’–उनले भने ।


संघीयता र गणतन्त्र नमान्ने राप्रपा किन संघ र प्रदेशको निर्वाचनमा सहभागी भएको भनेर आफूहरुलाई जनताबाट प्रश्न आइरहेको बताउँदै उनले संसद्मा गएर संविधानको माध्यमबाट नै व्यवस्था परिवर्तन गर्ने तयारी आफूहरुको रहेको जबराको भनाई छ । साथै, जनआन्दोलनको तयारीपनि भइरहेको र जनलहरबाट पनि यो व्यवस्था उल्टिनसक्ने उनको भनाई छ ।


साथै, उनले भ्रष्टाचारमा संलग्न रहेको व्यक्तिलाई भोट नदिन जनतासमक्ष अपिल पनि गरे । पैसाको भरमा चुनाव जितेर आउनेहरुबाट परिवर्तन सम्भव नरहेको उनको दाबी छ । पैसामा भोट विक्दा नेताहरुले भ्रष्टाचार गरेको उनको आरोप छ । जनताले अब काम गर्ने मान्छेलाई अगाडि सार्न आवश्यक रहेको उनको भनाई छ । अहिले केही परिवर्तनको सन्देश आएको उनले बताए । आफूहरुले पुराना पार्टीलाई जनताले तिरस्कार गरेको संकेत पाइरहेको उनको भनाई छ ।


कर्मचारी, एउटा शाखा अधिकृतलाई टिप्पणी उठाएको भरमा जेलमा हालेकोमा भने उनले आपत्ति जनाए । उनले भने,‘टिप्पणी त सदर हुँदै आएर मन्त्रिपरिषदले सदर गरेछ नि ? कर्मचारीलाई लेख भनेपछि लेख्नैपर्यो नि । टिप्पणीको कुरा मन्त्रिपरिषद्को निर्णयबाट सदर भएको छ ।


मन्त्रिपरिषदको अध्यक्ष प्रधानमन्त्री हुन्छ । को जिम्मेवार भयो त ? टिप्पणी लेख्ने जिम्मेवार हो ? त्यो बेलाको मन्त्रिपरिषद्मा निर्णय गर्ने सबैलाई जेल हाल्नुपर्छ ।’


नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तराष्ट्रिय समूदायअगाडि नेपालीले टाउको उठाउन पनि नसक्ने स्थिति बनाएको उनको टिप्पणी छ । भ्रष्टाचार प्रकरणमा साना–ठूला कसैलाई पनि छोड्न नहुने उनको माग छ । भ्रष्टाचार गर्नेहरुलाई जेलमा हालेर तिनीहरुको सबै सम्पत्ति राष्ट्रियकरण गर्न आवश्यक रहेको उनले आवश्यकत्ता औंल्याए ।


उनले नेपाली जनताले बोल्नेमात्रै नभएर अब काम गरेर देखाउने नेता खोजिरहेको बताए । भ्रष्टाचार नेतृत्वसँग गाँसिएको कुरा भएकाले नेतृत्व परिवर्तन अहिलेको आवश्यकत्ता रहेको उनले बताए । परिवर्तनको अठोट गरेर आफूहरु आएको बताउँदै उनले राप्रपालाई एकपटक देशकै नेतृत्व गर्नेगरि विश्वास गर्न पनि आग्रह गरे ।


नेपाललाई सुहाउने राजतन्त्र आफूहरुको परिकल्पना भएको उनको भनाई छ । विश्वमा एक सयभन्दा बढी क्रिश्चियन राष्ट्र भएको उल्लेख गर्दै उनले ८० प्रतिशत जनता हिन्दु भएको देशमा हिन्दुराष्ट्र अपरिहार्य भएको बताए ।

प्रतिकृया