प्रचण्डको भावानात्मक अभिव्यक्तिलाई बंग्याएर राजनीतिकरण गर्न खोजियो भन्नदै सचिवालयकाे आपत्ति
प्रकाशित मिति
२०८० असार २१ गते, बिहीबार ०२:११
२१ असार २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ। प्रधानमन्त्री दाहालले असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली गइरहेकाे बताएका थिए।
उक्त अभिव्यक्ति दिएसँगै उनकाे चाैतर्फी आलाेचना भएकाे थियाे भने बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतका दलले संसद अवरुद्ध पारेका थिए।
प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दुखद् भएकाे बताएका छन्।
प्रधानमन्त्री दाहालले छाेरी ज्ञानुलाई सिंहको दिल्लीस्थित घरमा बसेर उपचार प्रक्रिया अगाडि बढाएको र साेही क्रममा सम्बन्धले भावनात्मक एवं पारिवारिक रूप लिएकाे विज्ञप्तिमा उल्लेख छ।
संसदमा प्रष्टीकरणको मौकासमेत नदिएर प्रधानमन्त्रीकाे भनाइकाे आसयविपरीत एकपक्षीय ढंगले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण रहेकाे प्रेस सल्लाहकार आचार्यले जनाएका छन्।
संकुचित राजनीतिक मानसिकताका साथ प्रधानमन्त्रीकाे राजीनामा मागेर संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको विरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यमा हेक्का राख्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।






प्रतिकृया