• २९ भदौ २०८३, सोमबार
  • ५ः३८ बिहान

गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई जन्म कैदको फैसला

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार ०५:२९

२० असार २०८०, काठमाडौँ: गुण्डा नाइके समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा उनलाई यसअघि नै दोषि रहेको ठहर गरेको थियो। सजाय निर्धारण बुधबार भएको हो ।

National Life

अदालतले उनीसहितका अभियुक्तहरुलाई दोषी ठहर गरेको छ। हत्याका मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको छ। हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैदको फैसला भएको छ।


समीरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । जिल्ला अदालतले १८ जनालाई दोषी ठहर र ६ जनालाई सफाइ दिएको छ। निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको २०७४ असोज २३ गते काठमाडौंको प्रयागचोकमा गोली प्रहार गरी हत्या भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

हत्या अभियोगमा २४ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको थियो । हत्याका मुख्य आरोपित बस्नेत २०७४ मंसिरमा पक्राउ परेका थिए। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । उनलाई अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखेको छ ।


धनराज योङहाङ, श्यामबहादुर गुम्वी, रोशन बुढाथोकी र राजिव स्याङताङलाई जनही ५ वर्ष कैदको फैसला भएको छ। वशन्त थेवे र मनोज बुढा मगरको निधन भइसकेकाले दाबी खारेज गरिएको छ । यस्तै यही मुद्दाका प्रतिवादीहरु प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, बिवजी महतो, सुर्यबहादुर बादी, राजकुमार साह, मुकेश कुमार पाण्डे र श्याम गुप्ताले सफाई पाएका छन् ।


यो मुद्दाका ७ प्रतिवादी भने अझै फरार छन् । गंगाप्रसाद लिम्बु, अजय थापा, समिकला राई, प्रवेश नायव, सुजा थक्सु बाजी, सुधिरकुमार साह र प्रदीपकुमार झा फरार छन्। उनीहरुको हकमा मुल्तवीमा राख्ने फैसला भएको छ ।

प्रतिकृया