• १८ भदौ २०८३, बिहीबार
  • ९ः१४ राती

हेल्भेटासको सहयोगमा कार्यान्वयन भएको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना

प्रकाशित मिति

२०८० जेष्ठ ९ गते, मंगलवार ११:२०

९ जेठ २०८०, काठमाडौँ: दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर/ENSSURE) परियोजना, नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना हो । इन्स्योर परियोजना प्रथम चरण (इ.स. २०१६-२०२३) सम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) द्वारा हेल्भेटास नेपाल (Helvetas Nepal) को प्राविधिक सहयोगमा कार्यान्वयन भएको हो भने परियोजनाको दोस्रो चरण (इ.स. २०२१ सेप्टेम्बरदेखि २०२५ जुलाईसम्म) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT), कोशी प्रदेश, बागमती प्रदेश, र लुम्बिनी प्रदेश को सामाजिक विकास मन्त्रालय र यी तीन प्रदेशका ३३ वटा गाउँ तथा नगरपालिका द्वारा Helvetas Nepal को प्राविधिक सहयोगमा संचालित छ । आगामी आ.व. देखि यो परियोजना गण्डकी प्रदेश,  मधेश प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको छ।


दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले नेपाली कामदारहरू विशेषतः विपन्न समूहका कामदारहरूको निरन्तर रोजगारीका लागि सीप अभिवृद्धि गर्ने तथा व्यापारिक र व्यावसायिक संस्थाहरूका लागि दक्ष कामदारको विकासमा सहयोग पुग्ने लक्ष्य लिएको छ । कामदारहरूले आफ्नो रोजगार क्षमतामा सुधार गर्ने, साझेदार कम्पनीहरूबाट काम गर्ने अनुकूल वातावरण तयार हुने तथा निजी क्षेत्रको अधिकतम सहभागितामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम को व्यवस्था विस्तार हुने यस परियोजनाका उद्देश्यहरू रहेका छन् । संघीय संरचना अनुरूपको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रणाली मार्फत नेपालका युवा, महिला तथा पुरुषहरूले सामाजिक तथा आर्थिक लाभ प्राप्त गर्ने मुख्य उदेश्यका साथ कार्यान्वयन हुने यो परियोजनाले निजी क्षेत्रका सीप विकास क्रियाकलापहरूको पहिचान, कार्यान्वयन र सुधार गरी निर्धारित लक्ष्यमा पुग्ने परिकल्पना गरेको छ ।

Kamana Sewa

जीवनपर्यन्त शिक्षाको सिद्धान्तलाई अङ्गिकार गर्दै कामको खोजीमा रहेका युवाहरूलाई प्रिडिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी (अप्रेन्टिशीप) तालिम, व्यावसायिक तालिम (१६९६ घण्टाको  कार्यगत अभ्यास सहितको छोटो अवधिको तालिम) तथा हाल कार्यरत कामदारहरू र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूका लागि सीप स्तरोन्नति तालिम कार्यक्रमहरुमा अवसरहरू उपलब्ध गराइ नेपाली श्रम बजारमा विद्यमान माग र आपूर्ति बीचको खाडल कम गर्दै बेरोजगारी समस्यालाई यस परियोजनाले सम्बोधन गर्ने अपेक्षा राखिएको छ । परियोजनाको अर्को घटक (component ) को रूपमा माध्यमिक विद्यालय स्तरमा अध्ययनरत् विद्यार्थीहरूलाई वृत्ति सम्बन्धी वृत्ति मार्ग-निर्देशन (Career Guidance) रहेको छ । भविष्यमा अंगाल्न सकिने वृत्तिहरूका बारेमा विद्यार्थीहरूलाई परामर्श दिने कुनै प्रणाली या निकायको अभाव रहेको सन्दर्भमा परियोजनाले त्यस्ता विद्यार्थीहरूलाई नेपालमा अपनाउन सकिने विभिन्न वृत्तिका बारेमा जानकारी प्रदान गरी निर्णय गर्न या आफूलाई रुचि भएको वृत्ति अपनाउने तयारी गर्न अभिप्रेरित गर्ने उद्देश्य पनि परियोजनाले राखेको छ ।

Classic Tech Desktop

दोस्रो चरणमा प्रदेश सरकारद्वारा औद्योगिक प्रशिक्षार्थी (अप्रेन्टिशीप) तालिम कार्यक्रम सञ्चालन भएको तथा, व्यावसायिक तालिम (१६९६ घण्टाको कार्यगत अभ्यास सहितको तालिम) र वृत्ति मार्ग-निर्देशन (Career Guidance) कार्यक्रम स्थानीय सरकारद्वारा सञ्चालन भइरहेका छन् र हाल कार्यरत कामदारहरू र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूका लागि सीप स्तरोन्नति तालिम  Helvetas Nepal द्वारा सञ्चालन भइरहेको छ ।


परियोजना विस्तारित गरिने प्रदेशहरूमा औद्योगिक प्रशिक्षार्थी (अप्रेन्टिशीप) तालिम र वृत्ति मार्ग-निर्देशन (Career Guidance) कार्यक्रमहरू कार्यान्वयन हुने योजना छ।

प्रतिकृया