• 3:29 pm

आज संसदको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने

प्रकाशित मिति

२०८० जेष्ठ ५ गते, शुक्रबार ०१:५२

जेष्ठ ५ , २०८०, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।


राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो ।


उक्त बैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्ने छन् । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।


सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्बैधानिक व्यवस्था छ ।

प्रतिकृया