• १३ असोज २०८३, मंगलबार
  • ९ः३९ बिहान

काठमाडौं उपत्यका प्रहरी कार्यालय र महानगरपालिका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

प्रकाशित मिति

२०८० बैशाख ८ गते, शुक्रबार १२:२८

८ वैशाख २०८०, काठमाडौँ: काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिका बीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

National Life

काठमाडौं महानगरपालिकाको सम्पर्क कार्यालय राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र काठमाडौं महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।


सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । सो कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिनुभयो । काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई ६ करोड रूपैयाँ उपलब्ध गराउने सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।


साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया