• ३ असोज २०८३, शनिबार
  • १०ः४४ राती

बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा ११औं आलु महोत्सवको तयारी तिव्र

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार ०४:३९

१५ चैत्र २०७९, काठमाडौँ : बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार मुल आयोजक समिति सल्लाहकार तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ ।

National Life

महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश लगाएत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जाल सँग छलफल भई रहेको महासचिव बसन्त कुमार श्रेष्ठले बताउनुभयो । उहाँले कृषि महाशाखाको पहलमा कृषि विशेषज्ञ र कृषक बिच कृषि साझा सवाल आयोजना गरिने बताउनुभयो । महोत्सवको लागि विभिन्न कृषि निकाय सँग समन्वय भइरहेको र आलुको साथसाथै रैथाने बालिको प्रदर्शन गरिने छ ।


महोत्सवको आकर्षणको लागि निर्माण गरिने आलुको पहाडको लागि आलु संकलन भइरहेको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले बताउनुभयो । उहाँले बुधबारसम्म ५० केजीको ५५० बोरा संकलन भइसकेको र अब ५० बोरा संकलन गर्न बाकी रहेको बताउनुभयो । आलुको साथै अन्य तरकारी बिक्री स्टल राख्नुपर्ने उहाँको भनाइ छ । हेमजामा आलुको उत्पादन घटेको भए पनि महोत्सवको लागि हेमजाका आलुले पुग्ने उल्लेख गर्नु भयो । बाहिरी आलु ल्याए महोत्सव गर्न लागिएको भन्ने हल्लाको पछि नलाग्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

महोत्सवको समायावधि नजिक आइरहदाँ बुधबारसम्म स्टल निर्माणका काम भइरहेको तथा स्टल बुकिङ भइरहेको स्टल तथा रेष्टुरेन्ट उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार केही कृषि तथा रेष्टुरेन्टका स्टल बुकिङ भइसकेको बताउनु भयो । बैठकमा मुल आयोजक समिति संयोजक सुबिन श्रेष्ठ, साँस्कृतिक उपसमिति संयोजक दान ब. थापा, प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारी लगाएतले अहिलेसम्म भइरहेको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै जित ब. कार्की, भिम प्रसाद श्रेष्ठ निलकण्ठ पौडेल लगाएतले सुझाव दिनुभएको थियो ।


‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।


महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।

प्रतिकृया