• २८ भदौ २०८३, आइतबार
  • १ः४६ दिउँसो

संसदीय व्यवस्थाविरोधी चार विद्यार्थी संगठन स्ववियु निर्वाचनमा एक ठाउँमा

प्रकाशित मिति

२०७९ फाल्गुन २१ गते, आईतवार ०३:२१

२१ फागुन २०७९, काठमाडौँ:  आगामी चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा चार दलनिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीनिकट विद्यार्थी संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कर्णजीत बुढाथोकीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि गठबन्धन गर्ने भएका हुन् । उनीहरुले आज स्ववियुको लागि संयुक्त घोषणापत्रसमेत सार्वजनिक गरेका छन् ।

National Life

चार विद्यार्थी संगठनहरुले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष्य नरेन्द्र विश्वकर्माले संसदीय राज्य व्यवस्थाको विरुद्ध कम्युनिष्ट शक्तिहरु एक हुनुको विकल्प नभएको बताए ।


‘अहिलेको संसदीय व्यवस्थाको विकल्पमा समाजवादी राज्य व्यवस्थाका लागि आन्दोलन गर्ने, त्रिभुवन विश्वविद्यालयको समग्र सुधारका निम्ति प्रशासनिक, प्राज्ञिक र नीतिगत सुधारका लागि संघर्ष गर्ने हाम्रा साझा एजेण्डा रहेका छन्,’– विश्वकर्माले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिलेको संसदीय राज्यव्यवस्थाको हस्तक्षेपका कारण विद्यार्थी संख्याको हिसाबले विश्वको १२औं स्थानमा रहेको त्रिविको शैक्षिक गुणस्तर खस्किएको उनको आरोप छ ।


‘छ लाख भन्दाबढी विद्यार्थीहरु अध्ययन गरिरहेको संस्था दिन÷प्रतिदिन खस्कँदो अवस्थामा छ । यसको गुणस्तर कमजोर हुँदै गएको छ । नेपालको असफल राज्य व्यवस्थाले यसलाई हस्तक्षेप गरिरहेको छ । यो स्ववियु निर्वाचनलाई राज्यको राजनीतिक अर्थ–व्यवस्थालाई परिवर्तन गर्ने महान अभियानका रुपमा हामीले लिएका छौं,’–उनले भने ।


विद्यार्थी आन्दोलनको इतिहास व्यवस्थाविरोधी इतिहास भएको उनको दाबी छ । शासकहरुको दमनबाट जनतालाई मुक्ति दिन विद्यार्थी आन्दोलनले विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान दिएको उनले स्मरण गरे । अहिले नेपालमा विद्यार्थी आन्दोलनको मुख्य मुद्दा भनेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई फाल्नु भएको उनको दाबी छ । राज्यव्यवस्थाको शिकारमा अहिले त्रिवि परेको उनको दाबी छ ।


‘भ्रष्टाचारमा चुर्लुम्म डुबेका दलाल पुँजीवादीका मतियार विद्यार्थी संगठनबाट परिवर्तन सम्भव छैन । तसर्थ निरन्तर संघर्षका माध्यमबाट शैक्षिक विसंगतिका विरुद्ध राष्ट्रिय स्वाधिनताको पक्षमा र जनताको हरेक संघर्षमा अग्रपंतिमा लडेका हामी चार विद्यार्थी संगठनलाई विजयी गराइदिनुहुन अनुरोध गर्दछौं,’–संयुक्त घोषणापत्रमा भनिएको छ ।


अखिल क्रान्तिकारीका संयोजक कपिल सिजापतिले आफूहरुले स्ववियुबाट विद्यार्थीको हित चाहेको बताए । अन्य विद्यार्थी संगठनको विकल्पको रुपमा आफूहरु उदाएको उनको दाबी छ । स्ववियुमा विद्यार्थीले आफूहरुलाई म्याण्डेट दिएको खण्डमा विद्यार्थीको हकहितका लागि आफूहरु लागि पर्ने उनले बताए । उनले चार दलीय संगठनको मोर्चालाई विवेक प्रयोग गरी जिताउन पनि सबै विद्यार्थीलाई आग्रह गरे । साथै, कसैको स्वार्थको आधारमा स्ववियु निर्वाचन रोक्ने चलखेल भएको खण्डमा आफूहरु त्यसको प्रतिवाद गर्ने उनले बताए ।


वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक करण बुढाले अहिले विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बनेको आरोप लगाए । आजको राज्य व्यवस्थाले लाखौं विद्यार्थीहरुलाई विदेश पलायन गरिरहेको उनले बताए । अहिलेको अवस्था सुधारका लागि चार विद्यार्थी संगठनले संयुक्त एजेण्डा लिएर आएको उनले बताए । अहिलेको व्यवस्था बदल्नका लागि आम प्रगतिशील विद्यार्थी संगठन एक ठाउँमा आउनु पर्ने उनको ठम्याईँ छ ।


‘अहिलेको दलाल राज्यसत्ता, शोषणकारी राज्यसत्ता, अहिलेको दमन र निरंकुश राज्यसत्तालाई बदल्नका लागि आम प्रगतिशील विद्यार्थी शक्तिहरु एक ठाउँमा उभिएका छौं,’– उनले भने ।


राज्यले आम श्रमजीविहरुलाई प्रशासनको आडमा लखेटिरहेको उनको आरोप छ । अहिले दलीय भागबण्डाको आधारमा शिक्षा क्षेत्र सञ्चालन भइरहेको उनको दाबी छ । साथै, अब प्राविधिक शिक्षामा जोड दिनका लागि पनि चार दलीय विद्यार्थी संगठनले कदम चाल्ने उनले बताए । विद्यार्थीका समस्याका बारेमा राज्य बेखबर रहेको उनले बताए ।


कार्यक्रमका अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले अहिले आफूहरुले सत्ताको विकल्प खोजिरहेको बताए । अहिले राज्यका हरेक क्षेत्रमा सिन्डिकेट रहेको उनले बताए । विश्वविद्यालयमा रहेको राजनीतिक सिन्डिकेट तोड्नका लागि आफुहरु संगठित भएको उनको भनाई छ ।


अहिलेका विश्वविद्यालय राजनीतिक दलको पार्टी कार्यालयजस्तो भएको उनले आरोप लगाए । यसो हुनुमा दलीय भागबन्डा प्रणाली उत्तरदायी रहेको उनले बताए । आफूहरु दलीय हस्तक्षेप मुक्त विश्वविद्यालय बनाउन चाहेको उनले बताए ।


‘हाम्रा विश्वविद्यालयहरु खण्डहर भएका छन् । पुरानै लयमा विश्वविद्यालयलाई कसरी फर्काउन सकिन्छ भनेर हामी लागिरहेका छौं । विश्वले नै खोजिरहेको जनशक्ति उत्पादन गर्ने, व्यवहारिक परीक्षा प्रणाली लगायतका तमाम विषयमा हामी यो स्ववियु निर्वाचनमार्फत् छलफल गर्न चाहन्छौं । यी सबै समस्यको कारणमा हामीले त्यहाँभित्र रहेको दलीय भागबण्डा नै मुख्य मानेका छौं । आज विश्व विद्यालयमा अध्ययन, खोज र अनुसन्धान छैन । हामी दलीय हस्तक्षेप मुक्त विश्वविद्यालय बनाउन चाहन्छौं,’– उनले भने ।

प्रतिकृया