पहिचान आन्दोलन सफल बनाउन चलचित्र प्रभावकारी हुने: मन्त्री श्रेष्ठ
प्रकाशित मिति
२०७९ श्रावण २२ गते, आईतवार ११:४४
२२ साउन २०७९, काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिवासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्रले प्रभावकारी भूमिका खेल्ने बताएका छन्। २८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ)ले शुक्रबार काठमाडौंमा संयुक्तरूपमा आयोजना गरेको आदिवासी चलचित्र प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उक्त धारणा राखेका हुन्।
एउटा चलचित्रमा समावेश हुने विषयवस्तु, संवाद र पात्रको नामले मानिसको सोच, सामाजिक व्यबहार र ठाउँको नामसमेत परिवर्तन भएका उदाहरणहरू भेटिएको उल्लेख गर्दै उनले आदिवासी जनजातिको पहिचान, अस्तित्व र आन्दोलनलाई सशक्त बनाउन सावधानीपूर्वक चलचित्र निर्माण गर्न आदिवासी चलचित्रकर्मीहरुलाई आग्रह गरे ।

कार्यक्रमका आदिवासी जनजाति महासंघ, संघीय परिषद्का अध्यक्ष गेल्जे लामा शेर्पाले अबको आदिवासी आन्दोलन फरक, बहुआयमिक र अझ सशक्त हुने बताए । उनले सफल आन्दोलनको मानक सडक आन्दोलनलाई मात्रै नहुने भन्दै अब चलचित्रकर्मी, सांस्कृतिककर्मी, महिला, युवा, पत्रकार, प्राज्ञिक व्यक्ति र विभिन्न पेसा व्यवसायका व्यक्तिहरूलाई अधिकार स्थापित गराउन सक्रिय बनाउने महासंघको रणनीति रहेको बताए ।

आयोजक आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० का संघीय उपाध्यक्ष अमरध्वज लामा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालागयतले आदिवासी जनजाति समुदायको भाषा र विषय वस्तुमा बनेका चलचित्रको व्यावसायिकरणमा देखिएका समस्या र समाधानका विषयमा चर्चा गरेका थिए। नेपाल पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रममा नेवारी, तामाङ, थामी, थारू, सुनुवार समुदायका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै गुरूङ भाषामा निर्मित सांस्कृतिक चलचित्र ‘मि न्होर्वे ट’ प्रदर्शन गरिएको थियो ।




प्रतिकृया