भूतपूर्व गोर्खाको पेन्सन राष्ट्र बैंकमै आउने व्यवस्था मिलाउन माग
प्रकाशित मिति
२०७९ बैशाख १७ गते, शनिबार १२:३३
१७ बैशाख २०७९, काठमाण्डौं : बेलायतस्थित भूतपूर्व गोर्खाहरूको पेन्सन अहिलेसम्म पनि भारतको रिजर्भ बैकमा जम्मा हुँदा नेपाललाई करोडौं रुपैयाँ घाटा भएको भन्दै गोर्खाहरूले आपत्ति जनाएका छन् ।गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति यूके नेपालका प्रमुख संयोजक कृष्णबहादुर राई र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान यूके नेपालका प्रमुख संयोजक सन्तोष थलङले बेलायतस्थित नेपाली दूतावासमार्फत अर्थमन्त्रीलाई एक पत्र लेख्दै सो आपत्ति जनाएका हुन् ।
सरकारको दशकौंदेखि पाउन्ड स्टर्लिङबाट भारुमा हुँदै नेपाल आउने भूतपूर्व गोर्खाहरूको पेन्सन पाउन्ड स्टर्लिङ सीधै नेपाल राष्ट्र बैंकमै आउने व्यवस्था मिलाउन नेपाल सरकार तथा बेलायत सरकारसँग जोडदार माग गरेका हुन् ।
देशलाई संकट परेको अवस्थामा हामीले हाम्रो जिन्दगीको बाजी लगाएर आर्जेको ब्रिटिश सेनाको पेन्सन र क्षतिपूर्ति पाउन्ड स्टर्लिङमै नेपाल राष्ट्र बैंकमा जम्मा हुने व्यवस्था मिलाई देशका लागि वैदेशिक मुद्रा आयात गर्ने दीर्घकालीन श्रोत निर्माण गरी देशको अर्थतन्त्रमा योगदान पुराउन चाहन्छौँ पत्रमा उल्लेख गरिएको छ ।
उनीहरूले नेपालमा हाल अर्थतन्त्रमा देखिएको संकटप्रति चासो देखाउँदै नेपाली नागरिकता निरन्तरताको सुनिश्चितता नभएर दीर्घकालीन बसोबास नै बेलायतमा हुने परिस्थिति भए गोरखाहरुले बाध्य भएर नेपालमा भएका आफ्नो चल–अचल सम्पत्ति बिक्री गरी अर्बौँ नेपाली मुद्रा बेलायत तिरै लैजानुपर्ने स्थिति सृजना हुनेतर्फसमेत सचेत गराएका छन् ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समितिले संयुक्त रुपमा शुक्रबार लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यमार्फत अर्थमन्त्रीलाई पेस गरेको पत्रमा वैदेशिक मुद्रा आयात गर्ने दीर्घकालीन श्रोत निर्माण गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउन लालायित भएको जनाउँदै गोर्खाहरूले यसका लागि तत्काल पहल गर्न नेपाल सरकारलाई विशेष सुझावसहित अनुरोध गरेका छन् ।








प्रतिकृया