गरिबी निवारणमा महालक्ष्मी नगरपालिकाकाे पहल, २५ जनालाई ३५ लाख बिउ पुँजी वितरण
प्रकाशित मिति
२०७८ चैत्र १२ गते, शनिबार ०६:३३
सुजिता सापकाेटा, ११ चैत २०७८, काठमाडौँ : महालक्ष्मी नगरपालिकाकोे श्रम तथा रोजगार शाखाले विभिन्न कार्यक्रममार्फत बेरोजगार न्यूनिकरण तथा गरिबी निवारणको लागि पहल गरेकाे छ। नगरपालिकाकाे यस शाखाले आर्थिक रुपमा कमजोर भएका २५ जनालाई ३५ लाख बिउ पुँजी प्रदान गरेको हाे ।
शाखा संयाेजक अनिश महर्जनका अनुसार नगरपालिकाले नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/७८मा ८८ जना युवाहरुको आबेदन परेको थियो। प्राप्त आवेदन अनुसार २५ जना आर्थिक रुपमा कमजोर बासिन्दाहरुलाई बिउ बितरण गरेको हो । सोहि नगरपालिकाभित्र पर्ने बेरोजगार तथा गरिबीको चपेटामा परेकाहरुलाई सहज गराउने उद्देश्य राखेर कार्यक्रमहरु ल्याएको महर्जनले मातृभूमिलाई जानकारी दिए ।
यस नगरपालिकाको श्रम तथा रोजगार शाखाले युवाहरुको लागि नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम ल्याएको छ । सो कार्यक्रम नगरक्षेत्रभित्र बसोबास गरी व्यवसाय गर्ने युवाहरुलाई बिउ पुँजी तथा प्रविधि हस्तान्तरण गरी व्यवसाय प्रवर्धन गर्न ल्याइएको बताइएकाे छ।
साथै, सोहि कार्यक्रमका लागि आर्थिक वर्ष २०७८/७९ मा आवेदन दिनेको संख्या १ सय ३५ जना पुगेको छ भने ७३ लाखको बिउ पुँजी प्रदान गर्ने लक्ष्य नगरपालिकाले राखेको छ ।
यस्तै, स्थानीय तहमा सूचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने एवं सामुदायिक पूर्वाधारहरुको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार गर्ने उद्देश्यका साथ नगरपालिकाकोे श्रम तथा रोजगार शाखाले संचालन गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत आर्थिक वर्ष २०७७/७८ मा १५ जनालाई २६ दिन काममा लगाएको थियो । अनुसन्धान गर्ने क्रममा ३ सय १३ जना बेरोजगार देखिएका मध्ये १५ जनालाई २६ दिनसम्म काम दिएको नगरपालिकाले जनाएको छ । यस्तैगरी, चालु आर्थिक वर्ष २०७८र७९ मा सूचीकृत ३ सय २४ जना बेरोजगारमध्ये कामको अति आवश्यक भएका ३४ जनालाई ६० दिन काममा लगाइएको र थप ५० जनालाई काममा लागाउन सुरु गरिसकेको महर्जनले बताए ।
त्यस्तै, गरिबिको रेखा मुनी रहेका स्थानिय व्यक्तिहरुलाई सीप विकास तालिमका साथै प्रविधि हस्तान्तरण लगायतका सहयोग गरी उद्यमी सिर्जना गर्न ‘लघु उद्यम विकास कार्यक्रम’ संचालन गरिएकाे शाखाकाे दाबी छ । यस कार्यक्रमबाट गत आर्थिक वर्षमा ६६ जनाले नयाँ उद्यमी सिर्जनाको तालिम प्राप्त गरेका थिए । यस्तै, स्तरोन्नति सहयोगतर्फ प्रविधि प्राप्त गर्नेकाे संख्या ४० रहेका थियाे। यसैगरी चालु आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाले ९० जनालाई नया उद्यमी बनाउने लक्ष्य राखेको छ भने ४० जनालाइ स्तरोन्नती सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ । हालसम्म नगरपालिकाको श्रम तथा रोजगार शाखाले ९० जनालाई उद्यमशीलता विकास तालिम प्रदान गरिसकेको राेजगार संयाेजक महजर्नले बताएका छन् ।








प्रतिकृया