संसद् बैठक दिउँसो १ बजे : एमसीसीमाथि छलफल हुँदै
प्रकाशित मिति
२०७८ फाल्गुन १३ गते, शुक्रबार ०६:५४
१३ फागुन २०७८, काठमाडौँ : प्रतिनिधिसभा बैठक आज (शुक्रबार)को बैठक बस्दैछ। बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै आजका लागि सरेको संघीय संसद सचिवालयले जनाएको छ।
आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ। उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची बिहीबारै सार्वजनिक गरेका हुन्।
कार्यसूचीको पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ भने दोस्रो नम्बरमा एमसीसी प्रस्ताव छलफलका लागि पेश हुने उल्लेख छ। बिहीबारकै बैठक सारेर प्रधानमन्त्री देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग छलफल गरेका थिए।

सरकारले एमसीसीको पक्षमा एमालेलाई मनाउन बैठक सारेको बालुवाटार स्रोतले बताएको थियो। बैठक स्थगित गरेर दिनभर छलफलमा जुटेका प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्य गर्ने तयारी गरेका छन्। एमालेले केही सर्त अगाडि सारेपछि ठोस् निर्णय भने भइसकेको छैन। बिहीबार रातिसम्म एमाले नेतृत्वसँग प्रधानमन्त्री देउवासहित काँग्रेस नेतृत्वले बालुवाटारमा छलफल गरेको छ।






प्रतिकृया