खेलाडीमाथिको कारबाहीले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण प्रभावित
प्रकाशित मिति
२०७८ पुष ६ गते, मंगलवार ०९:११
६ पुस २०७८, काठमाडौँ : नेपाल क्रिकेट संघ–क्यानले ज्ञानेन्द्र मल्लसहितका खेलाडीलाई अनुशासनको कारवाही गरेपछिको विवादका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण प्रभावित भएको छ। निर्धारित कार्यतालिकाअनुसार मंगलबारदेखि पोखरामा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण हुनुपर्ने थियो। तर मल्लसहितका खेलाडीमाथि क्यानले गरेका कारवाहीका कारण उत्पन्न विवादले प्रशिक्षण प्रभावित भएको हो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक पुबुदु दासानायके आइनपुगेकाले निर्धारित समयमा बन्द प्रशिक्षण सुरु गर्न नसकिएको दाबी गरेका छन्। उनले आउँदो शनिबारसम्ममा दासानायके आइपुग्ने र आफूहरुको तर्फबाट सबै तयारी पूरा भएकाले त्यसपछि बन्द प्रशिक्षण सुरु हुने जानकारी दिए। तर सामान्य अवस्थामा मुख्य प्रशिक्षक नभए पनि बन्द प्रशिक्षण भने रोकिँदैन। क्यानले हालै मल्ललाई कारवाही गर्दै कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाएको थियो। कारवाहीमा परेका मल्लसहितका चार खेलाडीको समर्थनमा अरु खेलाडी पनि देखिएका छन्।
नेपालले आउँदो फेब्रुअरीमा ट्वेन्टी ट्वेन्टी विश्वकपको विश्वस्तरीय छनोट तथा आइसिसी विश्वकप लिग दुईमा प्रतिस्पर्धा गर्दैछ। त्यसका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण तय गरिए पनि विवादका कारण तोकिएको समयमा सुरु हुन नसकेको हो। मल्लसहितका खेलाडीले ग्रेडिङमा भएको समस्या समाधान गर्नुपर्ने तथा आफूहरुमाथिको कारवाही फिर्ता गरिनु पर्ने माग गरेका छन्। क्यानका अध्यक्ष चन्दले समस्या समाधानका लागि अनौपचारिक तहमा छलफल भइरहेको तर अहिले नै के निष्कर्ष निस्कन्छ भन्न सकिने अवस्था नरहेको बताए।
यसैबीच खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सोमबार खेलाडीहरुसँग छलफल गरेका छन्। उनले हालको विवादलाई लिएर चासो व्यक्त गरी खेलाडीसँग छलफल गरेका हुन्। त्यसअघि मन्त्री गहतराजले क्यानका पदाधिकारीसँग पनि छलफल गरेका थिए।






प्रतिकृया