नेपाली निर्माता फिल्म रिलिजका लागि के पर्खदैछन् ?
प्रकाशित मिति
२०७८ कार्तिक २२ गते, सोमबार ०१:१४
२२ कार्तिक, २०७८ काठमाडौँ : दशैंको लामो बिदामा समेत नेपाली चलचित्र रिलिज गर्न नसकेपछि नेपाली मेकरको आलोचना भयो । राम्रो चलचित्र रिलिज गरेको खण्डमा दर्शक हलसम्म आउँछन् भन्ने विश्लेषण सो समयमा पनि भएको हो । तर, निर्माताले आँट गरेनन् । तिहारमा पनि बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपाली हल भरिभराउ भयो । तिहार जस्तो चाडमा पनि नेपाली निर्माताले चलचित्र रिलिज गर्ने आँट गरेनन् । चलचित्र ‘सूर्यवंशी’ हेर्नका लागि दर्शकको लामो लाइन देखेपछि धेरैले फेरि भन्न थालेका छन्, नेपाली निर्माताले अर्को अवसर पनि गुमाए ।
‘सूर्यवंशी’ले हलमा दर्शकलाई फर्काएको छ । तर, पनि नेपाली चलचित्र चलाउनका लागि निर्माताको कुनै चहलपहल देखिदैन । अझै, पनि निर्माताहरु चलचित्र चलाउने कि के गर्ने भनेर पर्खिरहेका छन् । वितरक मनोज राठी भन्छन्–‘खै, नेपाली निर्माताले अझै के पर्खिएका हुन् ?’ दर्शकले पहिलो भागमा अध्याधिक माया गरेका चलचित्रका निर्माताले समेत सिरिज चलचित्र चलाउने आँट गर्न सकेका छैनन् । अधिकांश निर्माताको एउटै भनाई हुन्थ्यो–‘करोडौं लगानीमा बनेका चलचित्रलाई जोखिम मोलेर कसरी रिलिज गर्नु ? ’
अब, नेपाली निर्माताले चलचित्र चलाउनका लागि के पर्खिरहेका होलान् त रु चलचित्र ‘आई एम ट्वान्टी वान’की निर्देशक रेनशा वान्तवा राई भन्छिन्–‘बल्ल चलचित्र चल्छ भन्ने आशा पलाएको छ । नेपाली र हिन्दी चलचित्र एकसाथ चलाउनुपर्छ भन्ने कुरालाई अब हामीले स्विकार गर्नुपर्छ ।’ रेनशाले चलचित्र रिलिजका लागि मिति पाउन नै मुश्किल रहेको कुरालाई स्विकार गरिन् । भनिन्–‘हामी जनवरी ७ सम्म चलचित्रको प्रदर्शन मिति तय गर्छौ । तर, चलचित्रको प्रदर्शनका लागि राम्रो डेट पाउन नै समस्या छ ।’
‘सूर्यवंशी’ रिलिजले प्रदर्शकको मुहारमा खुशी ल्याएको भन्दै रेनशाले अब भने चलचित्र चलाउने आशा पलाएको बताइन् । पहिलो चरणको लकडाउन अगाडि नै निर्माण भएर प्रदर्शनको पालो पर्खिरहेकादेखि लकडाउनपछि निर्माण भएका चलचित्रको संख्या ५ दर्जन हारहारीमा छ । तर, अहिलेसम्म ‘चुरिफुरी, ए मेरो हजुर ४, लप्पन छप्पन २ र चिसो मान्छे’का निर्माताले मात्र चलचित्र प्रदर्शनको लागि मिति तय गरेका छन् ।
करिब २ बर्ष हिन्दी र अंग्रेजी चलचित्र एक साताको अन्तरमा रिलिज हुँदैछन् । यसले, नेपाली निर्मातालाई अर्को समस्या खडा गरिदिएको छ । ‘सूर्यवंशी’ले नेपाली चलचित्रका निर्मातालाई जुरमुराइदिएको छ । तर, अब नेपाली निर्माताहरु कुन मितिमा चलचित्र रिलिज गर्ने भन्ने समस्यामा भने परेको देखिन्छ ।






प्रतिकृया