शक्तिशाली अध्यक्षकै प्रस्ताव अघि बढाउने ओलीको संकेत (भिडियोसहित)
प्रकाशित मिति
२०७८ भाद्र ९ गते, बुधबार ०१:५५
९ भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अध्यक्षलाई शक्तिशाली बनाउने विधान संशोधन प्रस्तावलाई नै अघि बढाउने संकेत गरेका छन् । २५ साउनमा आफ्नो पक्षका नेताहरु मात्र उपस्थित केन्द्रीय कमिटी बैठकमार्फत ओलीले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन गर्ने विधान संशोधन प्रस्ताव पास गरेका थिए । १२ पदाधिकारी भने केन्द्रीय कमिटीले मनोनित गर्नेछ ।
यसले आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने ओली समूह इतरका नेताहरुको चिन्ता थियो । तर माधवकुमार नेपाललाई छाडेर एमालेमै बसेका नेताहरु स्थायी कमिटीमा आएको भोलिपल्टै ओलीले त्यही प्रस्ताव अघि बढाउने संकेत गरेका छन् । बुधबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रमुख नेता सोझै र अरु पदहरु अनुकूल ढंगले पार्टी सञ्चालन गर्ने गरी मिलाउनु पर्छ ।

’चुनाव हारेका मान्छेले मलाई अध्यक्ष चाहियो भन्ने गरेको भन्दै उनले भने, ‘यदि केन्द्रीय सदस्यबाट अध्यक्ष छान्ने प्रणाली ल्यायौं भने सधैं अध्यक्ष फेर्ने खेल हुन्छ । त्यसले पार्टीमा स्थिरता हुँदैन । लोकतान्त्रिक अभ्यासका नाम गुटबन्दी भइरहन्छ ।’ अरु पदहरुमा भने अध्यक्षले अनुकूल ढंगले पार्टी सञ्चालन गर्ने गरी मनोनित गर्नुपर्ने उनले बताए । जबकी एमालेले आठौं र नबौं महाधिवेशनबाट बहुपदीय प्रणाली स्वीकार गर्दै महाधिवेशनबाट चयन गर्ने गरेको थियो ।

अध्यक्ष मात्र महाधिवेशनबाट चुन्दा पार्टीभित्रको लोकतन्त्र कमजोर नहुने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘हामीले लोकतान्त्रिक अभ्यास छोडेका छैनौं, छोड्दैनौं । भिडियो




प्रतिकृया