• १५ असोज २०८३, बिहीबार
  • ७ः२५ बेलुका

भक्तपुरमा मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक, बिस्केट जात्रामा विकल्प खोजिने

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ०६:३०

भक्तपुर: जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाएको छ । पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोभिड–१९ अर्थात् कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढेकाले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न र नगराउन अनुरोध गरेका हुन् ।

National Life

 

गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशानुसार जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भिडभाड हुने कुनै किसिमको कार्य नगर्न नगराउन अनुरोध गर्दै स्वीकृतविना यस्ता काम गरेको पाइए कारबाही गरिने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

भक्तपुरमा नयाँ वर्षमा मनाइने प्रसिद्ध बिस्केट जात्रा सञ्चालनमा भने वैकल्पिक उपाय खोजिने उनले बताए । प्रजिअ भट्टराईले बिस्केट जात्रा रोक्नेबारे अहिले नै कुनै निर्णय नलिएको तर धेरै भिडभाड हुने भएकाले रथ तान्न र लिङ्गो उठाउनेबारेमा भने वैकल्पिक उपाय खोजिने बताए ।

 

उनले भने, “कोरोनाको जोखिम ह्वात्तै बढेको छ, त्यसैले धेरै भिडभाड हुने जात्रा पर्वलाई औपचारिकतामा जतिसक्दो कम मान्छेको उपस्थितिमा कसरी गर्न सकिन्छ भन्नेबारेमा स्थानीय तहसँग पनि छलफल गर्छौं, साथै भोलि नै गृह मन्त्रालयलाई के कसरी जात्रा पर्व गर्ने भन्नेबारेमा सोधेर पत्राचार गर्छौ, मन्त्रालयको निर्णय अनुसार अगाडि बढौँ ।”

 

बिस्केटका लागि हरेक वर्ष लिङ्गो तानेर ल्याउने परम्परा भए पनि यस वर्ष डोजर प्रयोग गरेर ल्याएको भन्दै उनले भैरवनाथको रथ र लिङ्गो तान्ने कार्यमा पनि मेशन वा अरू केही वैकल्पिक उपाय खोज्न सकिने बताए । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण गत वर्ष बिस्केट जात्रा औपचारिकतामा मात्रै सीमित गरिएको थियो । यस वर्ष भने बिस्केट जात्रा मनाउन तौमढीमा भैरवनाथको रथ बनाउने कार्य भइरहेको छ भने लिङ्गो ल्याएर राखिएको छ ।

 

भक्तपुरमा मात्रै नभई मध्यपुरथिमि बालकुमारीमा वैशाख २ गते मनाइने खट तथा सिन्दूर जात्रा र बोडेमा मनाइने जिब्रो छेड्ने जात्राकोसमेत तयारी भएको छ । प्रजिअ भट्टराईले भने, “कोरोना भाइरसका कारण मान्छे नै रहने हो कि नरहने भन्ने अवस्था छ, यस्तो अवस्थामा कसरी बच्ने र बचाउने भन्ने भएकाले जात्रालाई विकल्प खोज्नुपर्छ ।”

 

उनले गृह मन्त्रालयको निर्देशनअनुसार कोभिड–१९ सङ्क्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा ल्याइएका क्वारेनटाइन, आइसोलेसन केन्द्रलाई पुनः तयारी अवस्था राख्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको बताए । जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य युनिट तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए ।

 

पत्रकार सम्मेलनमा कोरोना भाइरसबाट बच्न स्वास्थ्य सुरक्षालगायतका मापदण्ड पालना गर्नसमेत जिल्लावासीलाई आग्रह गर्दै मापदण्ड उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग –२०२० बमोजिम कारबाही गर्ने बताए ।

 

प्रशासनले नजिकिँदै गरेको होली पर्वसमेत भिडभाड नहुने गरी आफ्नै घरमा बसेर मनाउन आग्रह गरेको छ । भिडभाड हुने सरकारी कार्यालयमा भोलिदेखि नै स्वास्थ्य मापदण्ड र सुरक्षाका उपाय अपनाएर मात्रै सेवा दिन निर्देशन दिएको प्रजिअ भट्टराईले बताए।

प्रतिकृया