• १० असोज २०८३, शनिबार
  • ३ः४४ राती

बेगनास–रूपा पम्प स्टोरेज आयोजनालाई ‘ड्रप आउट’ गर्ने तयारीमा प्राधिकरण

प्रकाशित मिति

२०७७ माघ १८ गते, आईतवार ०७:२१

काठमाडौं: मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटकोे कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले कास्कीको बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनालाई भने ‘ड्रप आउट’ गर्ने तयारी गरेको छ ।

National Life

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ड्रिम प्रोजेक्टका रूपमा १५० मेगावाटको उक्त आयोजना बनाउने गरी प्रक्रिया अगाडि बढाएका थिए । त्यसका लागि प्राधिकरणले विद्युत् विकास विभागबाट २०७४ कात्तिक २७ गते सर्वेक्षणको पनि अनुमति लिएको थियो । तर, अहिले त्यस आयोजनालाई अगाडि नबढाउने मनस्थितिमा प्राधिकरण पुगेको छ ।

नेपालका लागि पम्प स्टोरेज जलविद्युत् बिल्कुलै नयाँ प्रविधि हो । प्राधिकरणले पहिलो पम्प स्टोरेज आयोजनाका रूपमा करीब १४ अर्बको लगानीमा बेगनास–रूपा पम्प स्टोरेजलाई विकास गर्न खोजेको थियो । तर, अहिले अध्ययनकै क्रममा उक्त आयोजनालाई छोडेर कुलेखानीमा अर्को पम्प स्टोरेज बनाउन प्राधिकरण अगाडि बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्ययनका क्रममा आयोजना निर्माण महँगो हुने देखिएपछि प्राधिकरण उक्त आयोजना नबनाउने मनस्थितिमा पुगेको बुझिएको छ । यद्यपि, उक्त आयोजनाको अध्ययन गर्ने काम बन्द नै गरिएको छैन । उक्त आयोजनालाई अगाडि बढाउने मनस्थितिमा प्राधिकरण नरहेको प्राधिकरणकै अधिकारीहरूको भनाइ छ ।

प्राधिकरणले उक्त आयोजनाको अध्ययन गर्ने काम विस्तारै घटाउँदै लगेको छ । ‘अहिले उक्त आयोजनालाई त्यति प्राथमिकतामा राखिएको छैन । अहिले हामीले कुलेखानी पम्प स्टोरेजको विषयमा नै काम गरेका छौं,’ प्राधिकरणका एक अधिकारीले भने ।

यस सम्बन्धमा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि अध्ययनको क्रममा उक्त आयोजना बनाउन सम्भव नदेखिएको बताए । तर, उनका अनुसार आयोजनाको अध्ययनको काम भने बन्द गरिएको छैन । हाल उक्त अयोजनाको वातावरणीय अध्ययन भइरहेको उनको भनाइ छ । ‘कुनै नयाँ प्रविधिको कारणले सस्तो पर्ने देखियो भने बेग्लै कुरा हो । उक्त आयोजनाको विषय अहिले त्यत्तिकै रहेको छ,’ उनले भने ।

विद्युत् विकास विभागका एक उच्च अधिकारीले पनि अनौपचारिक रूपमा उक्त आयोजना ड्रप आउट गर्ने सूचना प्राप्त भएको बताए । ‘पहिले प्राधिकरणले ड्रिम प्रोजेक्ट भनेर उक्त आयोजना बनाउने भन्यो । सोहीअनुसार हामीले पनि सर्वेक्षणको अनुमति दिएका थियौं । तर, अहिले त्यो आयोजना त्यति आकर्षक नदेखिएपछि उनीहरूले त्यसलाई छोड्न खोजेका छन्,’ उनले भने, ‘यस कुराले हामीलाई चनाखो बनाएको छ । अब कुलेखानी पम्प स्टोरेजमा पनि यस्तै समस्या आउन सक्छ । तसर्थ, हामीले कुलेखानी पम्प स्टोरेजको विषयमा विशेष अध्ययन गरेर सर्वेक्षणको अनुमति दिन्छौं ।’

प्राधिकरणले कुलेखानी पम्प स्टोरेज आयोजनाको सर्वेक्षण गत पुसमा विभागको आवेदन दिएको छ । हाल विभागले उक्त आवेदनउपर अध्ययन गरिरहेको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिकृया