१८ वटा शव बाकसमा फर्किंदा विमानस्थलको दृश्य- फोटोफिचर
प्रकाशित मिति
२०७७ माघ १० गते, शनिबार ०३:५०
काठमाडौं- यो दृश्य त्रिभुवन विमानस्थलको हो । हजारौं सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका युवाहरुमध्ये यी बाकसमा फर्किए । १८ वटा शव बाकसमा फर्किंदा विमानस्थलको दृश्य हृदयविदारक थियो । आफन्तहरु सास नभएपनि लास लिन पुगेका थिए ।
झापाका नेत्रप्रसाद भट्टराई ८ वर्षदेखि मलेसियामा कार्यरत थिए । साथीहरुसँग बेलुका सँगै खाना खाएर सुतेका भट्टराई बिहान उठ्दा मृत भेटिए । १३ र १४ वर्षका दुई छोरा रहेका भट्टराईको शव शनिवार नेपाल आइपुग्यो ।
शनिबार मलेसियाबाट नेत्रप्रसादसहित बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव आएको हो । १८ जनाको शव र एक जनाको अस्तु काठमडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगको हो । धन कमाउन विदेशिएका युवाहरुको शव ल्याइँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वातावरण भावविह्वल बनेको थियो ।
परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै पठाएको छ । उनीहरुको विभिन्न कारणले डिसेम्बर ५ देखि २८ भित्र ज्यान गएको हो ।
मलेसियाको क्वालालाम्पुरबाट शनिबार नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए३३० जहाजबाट १८ वटा शव नेपाल ल्याइएको हो । आएका शवहरूलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पु¥याउनेछ । केही परिवारले शव ढुवानीका लागि बोर्डमा निवेदन दिएका छन् भने केही परिवार काठमाडौं आउन बाँकी छ ।










प्रतिकृया