कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै
प्रकाशित मिति
२०७७ पुष २५ गते, शनिबार ०७:११

काठमाडौं- नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज शनिबार दोस्रो चरणको आन्दोलनमा उत्रिदैँछ ।
पार्टीको केन्द्रीय कार्यसमितिको पुस १९ गते बसेको बैठकको निर्णयअनुसार कांग्रेसले आज शनिबार देशभर प्रदर्शन गर्न लागेको हो ।
सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध प्रदर्शन गर्न लागेको जनाएको छ । कार्यक्रमअनुसार आज देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसको ठहर छ ।
देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरुले आफूलाई पायक पर्ने ठाउँमा सम्बोधन गर्ने कांग्रेसका सूचना अधिकारी केशव अधिकारीले जानकारी दिए ।
जसअनुसार कांग्रेस सभापति शेर बहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा सम्बोधन गर्ने तय भएको छ ।
यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नम्बर ६ को प्रदर्शनी मार्गमा सम्बोधन गर्नेछन् ।
कांग्रेस नेता गगन थापाले काठमाडौंको कपनबाट सम्बोधन गर्ने कार्यक्रम छ भने नेतृ सीतादेवी यादवले काभ्रेको प्रदर्शनलाई सम्बोधन गर्ने तय भएको छ ।
कांग्रेसको १९ पुसको केन्द्रीय कार्यसमितिको बैठकले पुस २५ मा देशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा, माघ ३ गते देशभरका ७५३ स्थानीय तहमा तथा माघ ८ गते देशभरका सबै स्थानीय तहसहित ६,७४३ वडाहरुमा संसद विघटनविरूद्ध प्रदर्शन गर्ने तय गरेको थियो ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गत गोलढुंगामा आयोजना हुने विरोध सभामा जाने भएका छन् भने प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ को ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुँदैछन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को दुबै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले सम्बोधन गर्नेछन् । उनी त्यहाँबाट नुवाकोटमा हुने विरोध सभामा समेत सहभागी हुन जानेछन् । काठमाडौं ६ को ‘ख’ प्रदेश सभामा नेतृ डा.डिला संग्रौलाले सम्बोधन गर्नेछिन् ।
यसैगरी क्षेत्र नम्बर ८ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा नेता नविन्द्रराज जोशी सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ९ को दुबै प्रदेश सभाको क्षेत्रमा नेता ध्यानगोबिन्द रञ्जितले नेतृत्व गर्नेछन् ।
यसैगरी क्षेत्र नम्बर १० को दुबै प्रदेश निर्वाचन क्षेत्रमा सो क्षेत्रका सांसद राजेन्द्र केसीले विरोध प्रदर्शनको नेतृत्व लिने भएका छन् ।
प्रतिकृया