• ८ असोज २०८३, बिहीबार
  • २ः१३ दिउँसो

प्रधानमन्त्री ओली द्वारा बालकोट निवासमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन

प्रकाशित मिति

२०७७ श्रावण १९ गते, सोमबार ०७:३१

भक्तपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तिसँग भेटघाट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका उहाँ बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि दिउँसो बालकोटस्थित निजी निवासमा आउनुभएको हो ।

National Life

पत्नी राधिका शाक्यसहित बालकोट पुग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गर्नुभयो । आफ्नो शेषपछि उक्त घरमा ट्रस्ट बनाउने घोषणा गरिसक्नुभएका प्रधानमन्त्री ओलीको जीवनकालका विभिन्न पक्ष समेटिएका विषय, तस्बीर, पुस्तक, महत्वपूर्ण दस्तावेजलाई पत्नी राधिका शाक्यले सङ्ग्रह गरी सङ्ग्रहालयका रुपमा गरेको व्यवस्थापनको उहाँले अवलोकन गर्नुभएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने बताउनुभयो । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले अब बालकोट कहिले फर्किने भनेर जिज्ञासा राख्दा ओलीले अब अढाइ वर्षपछि फर्कन्छु भनेर जवाफ दिँदै बाँकी साढे दुई वर्ष आफैँले सरकारको नेतृत्व गर्ने बताउनुभएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बाँस्कोटा र पूर्वमन्त्री बस्नेतसँग राजनीतिक छलफलसमेत गर्नुभएको थियो । जनताको विश्वासलाई कायमै राख्न पनि अर्का अध्यक्ष प्रचण्डसँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको सांसद बस्नेतले जानकारी दिनुभयो । मुलुक र जनताको हितका लागि जतिसक्दो छिटो सहमतिमा पुग्नु आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले बालुवाटारमा आज प्रचण्डसँगको छलफलमा जेरी खाएर छुट्टियाँै, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीते करेला खुवाएर कुरा गर्नुपर्छ भन्नुभएको सांसद बस्नेतले जानकारी दिनुभयो । बालकोट निवासमा प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर प्रमुख तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्नेल शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी दुवाकोटका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतको टोलीसँग भक्तपुरको शान्तिसुरक्षाबारे जिज्ञासा राख्नुभएको थियो ।

प्रधानमन्त्रीले हनुमन्ते करिडोर निर्माणका बारेमा चासो राख्नुभएको थियो भने कोरोना भाइरस सङ्क्रमण रोक्न, शान्तिसुरक्षा मजबुद बनाउन भक्तपुरका सांसद र प्रशासनले खेलेको भूमिकाप्रति आफू सन्तुष्ट रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री भएपछि तेस्रोपटक बालकोटस्थित निजी निवास पुग्नुभएका उहाँ यसअघि गत माघ १६ मा वसन्त पञ्चमीका दिन पुग्नुभएको थियो । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि भने उहाँ आज पहिलो पटक निजी निवास पुग्नुभएको हो । प्रधानमन्त्री दम्पतीले आफ्नो निवास र करेसाबारी निरीक्षणसमेत गरेर करीब एक घण्टापछि बालकोटबाट बालुवाटार फर्कनुभएको थियो ।
रासस

प्रतिकृया