• ६ असोज २०८३, मंगलबार
  • ११ः२९ बिहान

पर्यटक सवारी सञ्चालनको तयारी

प्रकाशित मिति

२०७७ श्रावण १५ गते, बिहीबार ११:३७

गण्डकी, प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक पोखरामा कोरोना महामारीको ठूलै प्रभाव परेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक र पर्यटनजन्य होटेल व्यवसाय एवं अन्य सम्बद्ध क्षेत्रमा लगानी बढाउनका समेत व्यवसायीलाई आग्रह ग¥यो । पोखरामा व्यवसायीले ठूलै लगानी गरे ।

National Life

भ्रमण वर्ष शुरु हुँदा नहुँदै फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण पर्यटनसहितका क्षेत्र ठप्प बनेपछि यहाँका व्यवसायी यतिखेर चिन्तामा छन् । भ्रमण वर्र्ष शुरु हुनुअगावै होटेल तथा रेष्टुराँमा पूर्वाधार थप गरिनुका साथै नयाँ होटल बन्ने क्रमले गति लिएको थियो । त्यहीअनुरुप पर्यटकलाई आवतजावत गराउने सुविधासम्पन्न पर्यटक बस थप्ने क्रम पनि बढेको थियो ।

पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन रु ३५ लाखका कारदेखि सुविधासम्पन्न रु डेढ दुई करोडसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् । भ्रमण वर्षलाई लक्षित गरी पछिल्लो समयमा मात्रै यहाँ झण्डै रु ५० करोड बराबरका पर्यटक सवारीसाधन व्यवसायीले खरिद गरेको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

“नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेसँगै व्यवसायीले पछिल्लो समयमा मात्रै पनि धेरै लगानी गरिसकेका छन्”, उहाँले थप्नुभयो, “लगानी गरेसँगै एकाएक भित्रिएको कोरोना महामारीले पर्यटन याताताय क्षेत्रको अबौँको लगानी यतिखेर जोखिममा परेको छ ।” उहाँका अनुसार सङ्घमा हाल विभिन्न क्षमताका ४०० पर्यटक सवारीसाधन रहेका छन् । सङ्घमा आबद्ध पर्यटक सवारी साधन बन्दाबन्दी शुरु भए यता थन्किएर बस्नुपर्दा दैनिक न्यूनतम रु दुई लाख घाटा ब्यहोर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

बन्दाबन्दी खुला गरी सार्वजनिक सवारीसाधन सञ्चालनका लागि अनुमति दिइसकेका अवस्थामा अन्य पर्यटक सवारी साधन भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । व्यवसायीले पर्यटकलाई सुरक्षित महसुस गराउने गरी यातायात सञ्चालनको तयारी गरिरहेको पोखराबाट पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिका अध्यक्ष सोमबहादुर थापाले बताउनुभयो ।

“हामी पर्यटकलाई जुनसुकै गन्तव्यमा पुग्नका लागि पनि सुरक्षित भएर यात्रा गर्दैछु भन्ने अनुभूति गराउने गरी तयारीमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटक सवारी साधनलाई विश्व स्वास्थ्य सङ्गठन एवं नेपाल सरकारको सुरक्षा मापदण्डअनुसार स्यानेटाइजर गर्ने र सवारी चालक एवं सहयोगी कर्मचारीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउनका लागि तालीम दिन थालिसकेका छौँ ।”

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पर्यटक बसमा खटिने कर्मचारीका लागि तालीम दिन शुरु गरिसकेको सङ्घका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सामाजिक दूरी कायम गर्दै सङ्घले प्रत्येक समूहमा २५÷२५ जनाको दरले सवारी साधनको स्यानेटाइज एवं यातायात कर्मचारीले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डलगायतका विषयमा जानकारी दिन तालीम थालेको छ । उहाँका अनुसार पहिलो चरणमा तीन समूहका ७५ जनालाई तालीम दिइसकेको छ । अगामी भदौ १ गतेदेखि सवारी साधन सञ्चालनमा ल्याउने गरी सबै किसिमका तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
रासस

प्रतिकृया