• ६ असोज २०८३, मंगलबार
  • १२ः१४ राती

होटल सञ्चालनबारे सहमति, श्रमिकलाई चार हजार तीन सय देखि १० हजार रुपियाँ तलब दिने

प्रकाशित मिति

२०७७ श्रावण ६ गते, मंगलवार ०६:४५

 

National Life

काठमाडौं। होटल सञ्चालक र त्यहाँ कार्यरत श्रमिक सङ्गठनबीच तलबमा सहमति भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण होटल बन्द भएपछि सञ्चालक र मजदुरबीच तलबको विषयमा रहेको असहमतिलाई टुङ्ग्याउँदै आइतबार सहमति जुटेको हो ।

होटलहरूको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल (हान) र नेपाल स्वतन्त्र होटल मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजुर सङ्घ, नेपाल पर्यटन तथा स्वतन्त्र होटल सम्बद्ध श्रमिक सङ्घका अध्यक्षको रोहवरमा उक्त सहमति भएको हो । ‘बाँचौँ र बचाऔँ’ भन्ने नीतिसाथ गरिएको उक्त सहमतिअनुसार होटलको स्तरअनुसार मासिक चार हजार तीन सय रुपियाँदेखि १० हजार रुपियाँसम्म उपलब्ध गराउने उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सहमतिअनुसार दुई सयभन्दा माथि कोठा भएको डिलक्स पाँच तारेका कर्मचारी तथा श्रमिकलाई दश हजार, दुई सयभन्दा कम कोठा भएका पाँच तारे होटलमा मासिक नौ हजार, एक सयभन्दा बढी कोठा भएको चार तारे होटलमा आठ हजार ४५५, एक सयभन्दा कम कोठा भएको चार तारे होटलमा आठ हजार, तीन तारे तथा सोही स्तरका रिसोर्टमा पाँच हजार, दुई तारे तथा सोही स्तरका होटलमा चार हजार तीन सय र एक तारे र पर्यटक स्तरीय होटल तथा रिसोर्टले आपसी समझादारीमा तलब दिन सक्ने छन् । अप्रिल १३ देखि आगामी डिसेम्बर ३१ सम्म लागू हुने यो सहमतिअनुसार उल्लेखित रकमबाहेक अन्य सुविधा उपलब्ध हुने छैन ।

बन्दाबन्दीको अवस्था रहेसम्म प्रत्येक महिना दुई दिन र खुलेपछि प्रत्येक तीस दिन काममा नबोलाएमा चार दिनका दरले यो सम्झौताको अवधिभर हुन आउने सञ्चित बिदाबाट कट्टी हुनेछ । सम्झौता अवधिभर स्वेच्छिक अवकाश लिन चाहने, राजीनामा दिई अलग हुन चाहने र अवकाश पाउने कर्मचारीलाई बन्दाबन्दी अगाडि खाइपाई आएको सुविधा दिई अन्त्य गर्न पाइने सहमतिमा उल्लेख छ ।

कुनै श्रमिक वा कर्मचारीले सम्झौता अवधिभर रकम प्राप्त गरी सम्झौता अवधि समाप्त भएपछि एक महिना अगावै सूचना नदिई तुरुन्तै कामबाट अलग हुन चाहेमा निजले बुझिलिएको रकम निजले प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शीर्षकको रकमबाट कट्टी गरिने भएको छ । होटल सञ्चालन गर्न आवश्यकता बमोजिम व्यवस्थापनले चक्रीय प्रणालीअनुसार आलोपालो गरी काममा लगाइएका श्रमिक, कर्मचारीलाई साबिकअनुसार पारिश्रमिक भुक्तान गर्नुपर्ने छ । यने समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिकृया