भान्जाको हत्या गरी फिरौती लिने मामा १३ वर्षपछि पक्राउ
प्रकाशित मिति
२०७७ श्रावण ४ गते, आईतवार ०७:२५
काठमाडौं । महाशाखाले १३ वर्षअघि ११ वर्षीय रोहित गुप्ताको हत्या गर्ने उनकै मामा राजेश कुमार गुप्तालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ।
महानगरीय अपराध महाशाखा काठमाडौंले, आफ्नै भान्जाको अपहरणपछि हत्या गर्ने र फिरौती लिने मामालाई १३ बर्ष पछि पक्राउ गरी आज सार्वजनिक गर्यो ।
२०६४ असोज २४ गते बेलुका करिब ५ बजेको समयमा भारत विहार राज्य सितामणि जिल्ला मुझफरपुर घर भई काठमाडौं महानगरपालिका २२ खिचापोखरी बस्ने ११ वर्षीय रोहित गुप्ताको बेलुका ५ बजे घरबाट बाहिर निस्किदा अपहरण भयो थियो।
उनी राई स्कुल जोरपाटीमा कक्षा ७ मा अध्ययनरत थिए । त्यही दिन राति साढे ८ बजे अपरिचित व्यक्तिले बुबा बासुदेव गुप्तालाई टेलिफोन गरी छोरा अपहरणमा परेको भन्दै २ लाख ५० हजार रुपैयाँ फिरौती माग गरे थिए ।
तर, फिरौती रकम दिएपछि पनि बालक अपहरण मुक्त भने भएनन् । त्यसपछि उनको खोजतलास शुरु गरिएको थियो ।
त्यही क्रममा २०६४ असोज २७ गते बेलुका सवा ८ बजे काठमाडौं ३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा पोको पारी फालिएको अवस्थामा रोहितको शव फेला परेको थियो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार, अनुसन्धानको क्रममा रोहितको आपहरण तथा हत्याको योजनाकार उनकै सहोदर मामा राजेश कुमार गुप्ता भएको खुलेको थियो ।
अनुसन्धान अनुसार, राजेशले काठमाडौंको खिँचापोखरीस्थित भाडाको कोठामा उनको पसलमा पहिले काम गर्ने धादिङका विष्णु सुनारको सहयोगमा जादु सिकाउने भन्दै रोहितलाई बन्दक बनाए र घाँटिमा डोरीले बाँध्न खोज्दा रोहित चिच्याउन थालेपछि दुवै जनाले उनको हत्या गरेका थिए ।
प्रहरीका अनुसार, बालकको हत्या पछि शवलाइ बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनि बोक्न लगाएर कमलादी गणेशस्थान नजिक सडकमा फ्याँकिएको अवस्थामा भेटिएको थियो ।
शव भेटिएपछि मृतकका पिता बासुदेवलाई झुक्याउन राजेशले उनीसँगै प्रहरी कार्यालयमा गई केही समय खोजतलाश गरेको बहाना समेत गरेका थिए । तर पछि उनी एकाएक फरार भए ।
यही घटनामा संलग्न विष्णु सुनार भने २०६४ मंसिर १२ गते नै पक्राउ परेका थिए । उनी अहिले कारागारमा सजाय भोगिरहेका छन् ।





प्रतिकृया