सरकारले जेठ २५ भित्र बाँकी सबै कर चुक्ता गर्न व्यवसायीलाई आग्रह, म्याद भित्र तिर्न नसक्दा जरिवाना लाग्ने
प्रकाशित मिति
२०७७ जेष्ठ २१ गते, बुधबार ०५:४५
काठमाडौं । सरकारले जेठ २५ भित्र बाँकी सबै कर चुक्ता गर्न व्यवसायीलाई आग्रह गरेको छ । सरकारले सूचना जारी गर्दै म्याद भित्र तिर्न नसक्दा जरिवाना लाग्ने समेत उल्लेख गरेको छ ।
आन्तरिक राजश्व विभागले मंगलबार एक सुचना जारी गर्दै जेठ महिनाभित्र यसअघिका सबै कर दायित्वहरु भुक्तानी गर्न आग्रह गरेको छ । कोरोना भाइरसका कारण देश लकडाउनमा भएको अवस्थामा दुई महिनादेखि पर सार्दै आएका करहरु सबै तिर्न विभागले आग्रह गरेको छ ।
विभागले प्रत्येक महिनाको २५ गतेसम्म भुक्तानी गर्नुपर्ने कर जेठ २५ गतेसम्म र प्रत्येक महिनाको मसान्तसम्म भुक्तानी गर्नुपर्ने कर जेठ मसान्तसम्म भुक्तानी गर्नुपर्ने जनाएको छ । जसअनुसार गत फागुन र चैत महिनाको मासिक विवरण, माघ र फागुन महिनाको द्वैमासिक विवरण र मंसिरदेखि फागुनसम्मको भ्याटको चौमासिक विवरण समेत यही जेठ २५ गतेभित्र दाखिला गरिसक्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, फागुन र चैत महिनाको अन्तशुल्क वापतको कर समेत सोही अवधिमा बुझाइसक्नुपर्ने विभागको भनाइ छ । अग्रिम आयकर कट्टीको रुपमा फागुन र चैत महिनाको अग्रिम करको विवरण बुझाउने र त्यसअनुसारको रकम दाखिला गर्ने अवधि पनि जेठ २५ गतेसम्म नै तोकिएको छ । त्यस्तै, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार शुल्क लगायत शुल्कहरु पनि सोही अवधिभित्र बुझाइसक्नु पर्ने सूचनामा उल्लेख छ ।







प्रतिकृया