कानून दिवसको अवसरमा प्रधानन्यायाधीशद्वारा शुभकामना व्यक्त
प्रकाशित मिति
२०७७ बैशाख २६ गते, शुक्रबार ०८:२५
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानून दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
उनले आज एक शुभकामना सन्देश जारी गरी महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतले सङ्कूचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका उल्लेख गरेका छन् ।
उनले यसबाट न्यायको प्राप्तिमा पुग्नगएको असुविधालाई परिस्थितिजन्य बाध्यताका रूपमा बुझ्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।“सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीलसम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेको समेत अनुभूति गराएको छ”, सन्देशमा भनिएको छ, “महामारीका कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएको यस परिस्थितिमा एकापसमा शुभकामना आदानप्रदान गरी यस वर्षको कानून दिवस मनाउन न्याय क्षेत्रमा क्रियाशील व्यक्तित्वलगायत समृद्ध सबैमा हार्दिक अपिल गर्दछु ।” नेपाल प्रधानन्यायालय ऐन, २००८ विक्रम संवत् २००९ वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ ।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको प्रारम्भ गर्ने दिशामा उक्त दिनमा कोरिएको मार्गचित्रलाई आजको अवस्थासम्म ल्याउन भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण व्यक्तित्वको योगदानको स्मरण गर्दै प्रधानन्यायाधीश जबराले यस विशेष दिनमा उनीहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।
“न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ”, सन्देशमा भनिएको छ, “न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ ।






प्रतिकृया