स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार ८९ पुग्यो
प्रकाशित मिति
२०७६ चैत्र १४ गते, शुक्रबार ०८:४७
काठमाडौं। स्पेनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ८९ पुगेको छ । विश्वमा इटालीपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या स्पेनमा धेरै पुगेको छ ।
स्पेनी स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्ति मार्फत स्पेनमा संक्रमितको संख्या ५६ हजार १८८ पुगेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा स्पेनमा ६५५ को मृत्यु भएको हो । यसअघि बुधबारअघिको २४ घण्टाको अवधिमा ७३८ जनाको मृत्यु भएको थियो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट चीनभर मृतकको संख्या तीन हजार २९१ पुगेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकले जनाएको छ । मार्च १३ देखि स्पेनमा राष्ट्रिय आपतकाल र लकडाउन घोषणा गरिएको थियो । स्पेनका उच्च स्वास्थ्य अधिकारीले मृत्यु हुनेको संख्या स्पेनमा अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
यसअघि १५ दिनका लागि लकडाउन घोषणा गरिए पनि प्रधानमन्त्री पेड्रो सान्चेज्ले आइतबार राष्ट्रिय आपतकाल थप १४ दिन बढाउने बताएका थिए । स्पेनका उपप्रधानमन्त्री कारमेन काल्भोलाई पनि कोरोना पोजेटिभ पुष्टि गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको थियो । उनी हाल अस्पतालमा क्वारेन्टाइनमा राखिएको अवस्था सुधार हुँदै गएको बताइएको छ ।
स्पेनी स्वास्थ्य मन्त्री साल्भाडोर इलाले सरकारले चीनबाट ४६७ मिलियन डलर बराबरको मास्क, टेस्ट किट, ग्लभ्स र रेस्पाइरेटर खरिद गर्न सहमत भएको छ ।





प्रतिकृया