चेन्नेइ बस दुर्घटनाका ७ मृतकको शव आज स्वदेश ल्याइने
प्रकाशित मिति
२०७६ फाल्गुन १२ गते, सोमबार ०९:३७
एजेन्सी । भारतको तमिलनाडुस्थित सालेममा बुधवार बस दुर्घटनामा मृत्यु भएका सातजना नेपालीको शव आज इटहरी र काठमाडौं र्पुयाइने भएको छ । नेपाल सरकारको खर्चमा मृतकको शव सिलिगुडीको बागडोग्रा र काठमाडौं हुँदै स्वदेश ल्याउन लागिएको छ । दिल्लीस्थित नेपाली दूताबासका द्धितीय सचिव बाबुराम सिग्द्याल शनिवार राती सालेम पुगेर शव स्वदेश फर्काउने प्रबन्ध गरेका हुन् । सालेम चेन्नेइबाट तीनसय ५० किलोमिटर दुरीमा छ ।
दुर्घटनामा आठजना नेपालीको मृत्यु भएको थियो । एकजनाको शव आफन्तले आफैँ स्वदेश ल्याएका छन् । नेपाली दूताबासका प्रतिनिधि सिग्द्यालले सातजनाको शव पठाउने प्रक्रिया आइतवार साँझसम्म पूरा भएको चेन्नेइबाट टेलिफोनमा जानकारी दिए ।
त्रियुगा ७ उदयपुरका विष्णुप्रसाद दाहालको शव काठमाडौं ल्याउने तयारी छ भने ६ जनाको शव सिलिगुडीको बागडोग्रा विमानस्थल हुँदै ल्याउने तयारी छ । अस्पतालबाट शव एम्बुलेन्समा पठाइसकिएको र सोमवार बैङ्लोरबाट जहाजको कार्गोबाट सिलिगुडी हुँदै स्वदेश र्पुयाइने सिग्द्यालले जानकारी दिए ।
बाँकी छ जना मृतकमध्ये एकजना इटहरी र बाँकी खनारका हुन् । इटहरी १० का वीरबहादुर राई, खनाका बुद्धमी थारुनी, रासीलाल चौधरी, टीकाराम चौधरी, फुसरी देबी चौधरी र गोपाल तामाङको मृत्यु भएको थियो ।
बुधवार नेपाली तीर्थयात्री चढेको बसलाई लहरीले ठक्कर दिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप दुईजनाको मृत्यु भएको नेपाली दूताबास दिल्लीले जनाएको छ । दुर्घटनाका घाइतेमध्ये आठजना उपचाररत छन् । बाँकी डिस्चार्ज भइसकेका छन् ।
प्रतिकृया