कोरोना भाइरसका कारण इटलीमा एक दर्जन सहर बन्द
प्रकाशित मिति
२०७६ फाल्गुन १२ गते, सोमबार ०९:२०
एजेन्सी । युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न “असाधारण उपाय“ अपनाउने भएको छ । कोभिड(१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका हुन् ।
सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड(१९ का कारण मृत्यु भएपछि भएको हो। योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ। ती सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ।
प्रधानमन्त्री कोन्टेले सो सहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको छ। त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू निलम्बन गरिएको छ। आइतवार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो ।
प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ। इटलीका अधिकारीहरूले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन्। “यो भाइरस सर्ने सम्भावना निकै धेरै छ,“ लाम्बार्डीका स्वास्थ्य प्रमुखले बताए।
इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले एक दर्जन सहरका ५०,००० मानिसलाई घर बाहिर निस्कन नदिइने बताएका छन् । चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको छ।
प्रतिकृया