सरकार उपभोगका आधारमा विद्युत महशुल निर्धारण गर्ने नीति लिँदै
प्रकाशित मिति
२०७६ माघ ११ गते, शनिबार ०८:१४
काठमाण्डौँ । मुलुकमा उर्जा उत्पादन बढेको अवस्थामा खपत बढाउनुपर्ने भएकाले सरकारले उपभोगका आधारमा विद्युत महशुल निर्धारण गर्ने नीति लिने भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले जति बढी विद्युत उपयोग ग¥यो त्यति नै प्रतियुनिट बिजुली सस्तो हुने गरी प्रस्ताव तयार गरेको छ ।
ललितपुरमा शुक्रबार भएको एक कार्यक्रममा उर्जा, जालश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले केही दिनअघि आफ्नो अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरणको बैठकले नयाँ विद्युत महसुल दर निर्धारणका लागि सिफारिस गरेको जानकारी दिए ।
विगतमा माग बढी र उत्पादन कम भएकाले बढी प्रयोग गर्दा बढी नै मूल्य रहेको चर्चा गर्दै मन्त्री पुनले पछिल्लो दुई वर्षमा उत्पादन बढेर विद्युतमा आत्मनिर्भर हुने अवस्था आएकाले खपत बढाउन जति बढी प्रयोग गर्यो त्यति नै कम शुल्क निर्धारण हुने गरी नीति ल्याउन लागिएको स्पष्ट पारे ।
उनले प्रतिमहिना ० देखि ४ सय युनिटसम्म विद्युत प्रयोग गर्नेहरुको समूह वर्गीकरण गरी त्यसैअनुसार नयाँ शुल्क निर्धारणको तयारी भएको बताए ।
उनका अनुसार ० देखि १० युनिटसम्म प्रयोग गर्ने ग्राहक ७ लाख र ११ देखि २० युनिटभन्दा बढि प्रयोग गर्नेको संख्या १७ लाख छ । ० देखि १० युनिटसम्म प्रयोग गर्नेलाई सबैभन्दा सस्तो दर र त्यसपछि प्रयोगका आधारमा शुल्क लिइने उनको भनाइ थियो ।
यस्तै मन्त्री पुनले ग्यास प्रतिस्थापनका लागि विद्युतीय चुल्हो प्रयोगलाई प्रवद्र्धन गर्ने नीतिमा सरकार रहेको पनि जानकारी दिए।
‘गाउँघरमा चार पाँच जनाको परिवार र काठमाडौँमा डेरामा बस्नेले बिजुली बाल्दा र विद्युतीय चुल्होमा खाना पकाउँदा ५० युनिटभित्रैले पुग्ने र ग्यास भन्दा धेरै सस्तो पर्न भन्दै ५१ देखि ४ सय युनिट प्रयोग गर्नेले आइरन, वासिङमेशिन, फ्रिज जस्ता विद्युतीय उपकरण प्रयोग गर्न सक्ने पनि उनले उल्लेख गरे ।






प्रतिकृया