• ४ असोज २०८३, आइतबार
  • ४ः४८ बेलुका

सुनसरीमा गोलीसहित अत्याधुनिक हतियार फेला

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार ०६:३४

काठमाडौँ, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलबाट तत्कालीन माओवादीले सेना समायोजनका बेला जमिनमुनि लुकाएर राखेको ठूलो परिमाणको गोलीसहित अत्याधुनिक हतियार फेला परेको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको टोलीले आइतबार माओवादी कार्यकर्ताको कुखुराको खोरबाट एक थान सर्ट मेसिन गन एसएमजी सहित गोली बरामद गरेको हो।

National Life

भरौलका पूर्वमाओवादी कार्यकर्ता खेमराज प्रधानको कुखुराको खोरमुनि लुकाइएको एक थान सर्ट मेसिन गन र विभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ थान गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। विशेष सुराकीका आधारमा सेनाले उक्त स्थानबाट हतियार बरामद गरेको हो। हतियार जमिनमुनि गाडेर राखेको चाल पाएपछि सुनसरीका सुरक्षा निकायका प्रमुखसहित सेनाको विशेष टोली हतियार बरामद गर्न भरौल पुगेको थियो।

माओवादीले लुकाएको हतियारबारे सूचना पाएपछि बरामद गर्न सुनसरी प्रहरी प्रमुख पोखरेल, सेनाका क्याप्टेन प्रवेशबहादुर सिंह र सशस्त्र प्रहरी चतराका सशस्त्रका इन्स्पेक्टर अशोक न्यौपाने नेतृत्वको टोली भरौल पुगेको थियो। सेना र प्रहरीको टोलीले जमिन खनेर ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेको सुनसरीका सीडीओ राजेश पौडेलले बताए। उनले ६।६२ एमएमको २ हजार ५ सय ९६ राउन्ड, ९ एमएमको २ हजार ६ सय ३२ राउन्ड, ५।७६ एमएमको ४ हजार ५ सय ६५ र अन्य साना हतियारमा लाग्ने १ सय ८९ राउन्ड गोली बरामद गरिएको जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सशस्त्र द्वन्द्व त्यागेर शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादीका सेना समायोजनका बेलामा माओवादीले उक्त हतियार र गोली जमिनमुनि गाडेर राखेको बताइएको छ। तत्कालीन एमालेसँग पार्टी एकीकरण गरि तत्कालीन माओवादी यतिबेला नेकपा भएको छ। १० वर्ष माओवादी सशस्त्र द्वन्द्वको नेतृत्व गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेना समायोजनपूर्व पार्टीसँग भएका हतियार खोलामा बगाएको अभिव्यक्ति दिएका थिए।

बरामद हतियार र गोली सेनाले लगेको छ। हतियार बरामदबारे थप अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले बताए। हतियार जमिनमुनि गाडेपछि माओवादी कार्यकर्ता प्रधानले ०६७ सालमा कुखुरा पाल्दै आएका थिए। हतियार गाडेको ठाउँमा प्रधानले पक्की ढलान गरि कुखुराको खोर निर्माण गरेका थिए। उक्त पोल्टी फर्म बन्द छ। सेना समायोजनपश्चात माओवादीका पूर्वलडाकु यामबहादुर अधिकारी नेपाली सेनाको सहायक रथीमा बढुवा भएपछि पूर्वमाओवादीले लुकाएको हतियार र गोली बरामद हुन थालेको स्रोतले जानकारी दिएको छ। बरामद हतियार र गोली सबै खिया लागेका छन्। सेनाले हतियार गाडेको स्थान वरपर निगरानी समेत बढाएको छ। आसपासका क्षेत्रमा समेत अन्य हतियार र गाली गाडिएको हुन सक्ने भन्दै चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु बराहक्षेत्रका विभिन्न स्थानमा परिचालन गरिएको छ। सीडीओ पौडेलले हतियार लुकाउने समूह पहिचान गरि अनुसन्धान सुरु गर्न प्रहरीलाई निर्देशन दिएको बताएका छन्।
अन्नपूर्ण पोष्ट्बाट साभार ।

प्रतिकृया