• ५ असोज २०८३, सोमबार
  • २ः५४ राती

श्रृंखलाबद्ध प्रस्तुति लिएर नेपथ्य अष्ट्रेलिया जादै

प्रकाशित मिति

२०७६ कार्तिक ३० गते, शनिबार ०२:३४

 

National Life

काठमाडौं , श्रृंखलाबद्ध प्रस्तुति लिएर लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ। पछिल्लो समय नेपथ्यले लगातार श्रृंखलावद्ध प्रस्तुति लिएर अष्ट्रेलियामा सांगीतिक यात्रा गर्दै आएको छ। सन् २००९ बाट सुरु भएको यस्तो यात्राको यो चौथो श्रृंखला हो। यसपटक नेपथ्यको भ्रमण टोलीमा ६ जना ब्यान्डका सदस्य हुनेछन् भने उत्तिकै संख्यामा प्राविधिक एवं व्यवस्थापन गरेर १२ सदस्यीय समूह रहनेछ। केहि दसक यता अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको अध्ययन गर्ने मुख्य गन्तव्य रहिआएको छ भने, रोजगारी र बसोबासका हिसाबले पनि उल्लेख्य संख्यामा नेपालीहरू त्यता पुगेका छन्।

नेपाली संगीतको स्वादलाई आफुसँगै बोकेर गएका नेपालीको चाहनालाई ध्यानमा राखेर नेपथ्यले पनि अष्ट्रेलिया यात्रालाई उच्च प्राथमिकता दिँदै आएको हो। यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भने क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा आयोजित हुने नेपथ्यले जानकारी दिएको छ। त्यहाँस्थित फोर्टिच्युड म्यूजिक हलमा नोभेम्बर १९ तारिखका दिन नेपाली लोकरकको चीर परिचित स्वर नेपथ्यले गुञ्जाउने छ। ब्रिसबेनपछि नेपथ्यले उत्तर तर्फको डार्बिनमा नोभेम्बर २२ तारिखका दिन, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८ तारिख, सिड्नीमा डिसेम्बर १४ प्रस्तुति दिएपछि अन्तिम प्रस्तुतीको लागि मेलबर्न पुग्ने छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस यात्राको अन्तिम कार्यक्रम मेलबर्नमा डिसेम्बर २३ का दिन आयोजना हुनेछ। ‘श्रोता दर्शकहरूको अपार माया पाउँदै आएको अष्ट्रेलियामा यात्राको सबै तयारी सम्पन्न भएको छ,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘अस्ट्रेलियाका हरेक प्रस्तुतिलाई अविस्मरणीय बनाउने क्रममै पहिले कहिलै प्रस्तुत नगरेका केहि गीत पनि यसपालाको अष्ट्रेलिया यात्रामा सुनाउने भएका छौँ।’ अमृतलाई यो यात्रामा पनि सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

प्रतिकृया