• 1:18 pm

कृषि सहकारीद्धारा खाद्यान्न प्याकेज सार्वजनिक

प्रकाशित मिति

August 16, 2019

भक्तपुर, शिलादेवी कृषि सहकारी संस्था लिमिटेड भक्तपुरले उपभोक्ताका लागि खाद्य प्याकेज सार्वजनिक गरेको छ । शिलादेवी कृषि सहकारी संस्था लि.को नेतृत्वमा भक्तपुरका चारवटा सहकारी संस्थाहरुका सदस्यहरुलाई बजार मूल्य भन्दा सस्तोमा खाद्यान्न उपलब्ध गराउने गरि ल्याएको खाद्य प्याकेज आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

गुण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गतिशिल बचत तथा ऋण सहकारी संस्था, चापा ख्वाल बहुउदेश्ययी सहकारी संस्था लिमिटेडका सदस्यहरुका लागि खाद्य प्याकेज ल्याएको पत्रकार सम्मेलनमा शिलादेवी कृषि सहकारी संस्था लि.का प्रबन्ध निर्देशक गोकुल बनले जानकारी दिनुभयो ।

सहकारीका सदस्यहरुले एकमुष्ट रुपमा रु. १५ हजार बुझाएपछि सहकारीले एक महिनाका लागि खाद्यान्न उपलब्ध गराउने भएको छ । जसमा एक सदस्यलाई सोना मन्सुली चालल २० केजी, मासको दाल एक केजी, मुसुरोको दाल एक केजी, सोयाबिन तेल डेढ लिटर, नून एक प्याकेट, जिरा, खुर्सानी र बेसार दुई सय ग्रामका दरले प्याकेज उपलब्ध गराईने उहाँले जानकारी दिनुभयो ।

सहकारीले दिने खाद्य प्याकेजमा अहिलेको बजार मूल्यमा अनुसार वार्षिक २१ हजार ४५३ रुपैया पर्ने भएपनि सहकारीले भने आफ्ना सदस्यलाई रु. १५ हजारमा उपलब्ध गराउने भएको छ । पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक वनले भन्नुभयो–“बजारमा आउने खाद्यान्नहरु तीन पटकसम्म व्यापारीहरुको नाफा पार गरेर मात्रै उपभोक्ताकोमा पुग्दा मंहगो हुन्छ, हामीले ६ महिना बजार सर्वेक्षण गरेर सिधै उत्पादकसंग खाद्यान्नहरु ल्याई सदस्यहरुलाई दिदाँ वार्षिक बजार मूल्यभन्दा रु. ६ हजार ४५३ रुपैया सस्तोमा दिन सक्ने भयौ, त्यसैले यो खाद्य प्याकेज ल्याएका हौ ।” उहाँले यो प्याकेज स्वेच्छिक भएकाले सबै सदस्यका लागि अनिवार्य नभएको र प्याकेज लिएर बिचमा छाड्न चाहनेहरुलाई बाँकी रकम फिर्ता गरिने उहाँले बताउनुभयो ।

प्याकेजमा गुणस्तरीय खाद्यान्न मात्रै वितरण गर्ने बताउदै उहाँले यसवर्ष परीक्षणका रुपमा १० हजार सदस्यलाई खाद्यान्न उपलब्ध गराईने लक्ष्य लिएको बताउनुभयो । पत्रकार सम्मेलनमा गुण बचत तथा ऋण सहकारी संसथा लि.का प्रबन्ध निर्देशक राजु सुवालले यसवर्ष परीक्षणका रुपमा संचालन गरेपनि आगामी वर्ष चामलदेखि सबै खाद्यान्नहरु कृषि सहकारीले नै उत्पादन गर्ने योजना रहेको बताउनुभयो । उहाँले आफ्ना सदस्यहरुलाई भक्तपुरको जगाती, खरिपाटी, वागिश्वरी, सुडाल र दुवाकोटबाट खाद्यान्न वितरण गरिने बताउनुभयो ।

प्रतिकृया