सूर्यविनायक नगरपालिकाको पूर्णसरसफाई रणनीतिक योजना २०७६ सार्वजनिक
प्रकाशित मिति
२०७६ श्रावण ३० गते, बिहीबार ०३:३३
भक्तपुर, सूर्यविनायक नगरपालिकाले ‘पूर्णसरसफाई रणनीतिक योजना २०७६’ सार्वजनिक गरेको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेत, प्रदेश नं.३ का प्रदेश सांसद शशीजंग थापा, रजनी जोन्छले उक्त रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो ।
सूर्यविनायक नगरपालिकाको आयोजनामा बुधबार स्वस्थ जीवन, स्वच्छ खोलानाला, सम्पदा र धरोहर, उठौं जागौं बनाऔं पूर्ण सरसफाई उन्मुख सूर्यविनायक नगर भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।सांसद बस्नेतले भक्तपुरको सूर्यविनायक नगरपालिका अन्तरगतका सडकहरु आगामी चार वर्षभित्रमा कालोपत्रे तथा स्तरउन्नती भइसक्ने बताउँदै उक्त स्थानका सडकहरु धुलोमुक्त हुने बताउनुभएको छ । उहाँले आगामी दिनमा वातावरण सफा र सुन्दर बनाउन सूर्यविनायक नगरपालिकाले एक आना जग्गामा एक विरुवा अनिवार्य वाध्यकारी नियम बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि मानिसले घरको नक्सा पास गर्न आउँछ, उसलाई वातारण स्वच्छता, वृक्षारोपण, गोवर ग्यासलगायतका कार्यहरु गर्न वाध्यकारी नियम बनाई भुकम्प पिडितलाई जस्तै निशुल्क नक्सा पास गर्ने प्रावधान ल्याउनुपर्छ ।’ २०६८ सालमा भक्तपुर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको र वर्तमान समयमा सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकाले सँग सँगै रणनीतिक सरसफाई घोषणा गर्ने कार्य भइरहेको जानकारी गराउँदै उहाँले भक्तपुरमा सञ्चालनमा रहेको सरसफाई व्यक्तिगत, संस्थागत, शुद्ध खानेपानी, स्वच्छ वातावरण, मानसिक स्वच्छतालगायतका कुराहरु अपरिहार्य रहेको बताउनुभयो ।

हनुमन्ते नदीमा सवैभन्दा वढी फोहोर भक्तपुर नगरपालिकाले गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘हनुमन्ते नदीलाई फोहोर बनाउन करिव ८० प्रतिशत भक्तपुर नगरपालिका, करिव १५ प्रतिशत मध्यपुर र बाँकी करिव ५ प्रतिशत मात्र सूर्यविनायक नगरपालिकाले ढल मिसाई फोहोर गर्ने गरेको जसमा करिव ८० प्रतिशत सफाईमा योगदान सूर्यविनायक नगरपालिका र २० प्रतिशत योगदान मध्यपुर थिमी नगरपालिकाले गरेको छ भने भक्तपुरले हनुमन्ते नदीको सफाईमा कुनै पनि योगदान गरेको छैन । बरु अनावश्यक दवाव दिई अभियानलाई रोक्ने प्रयास गरेको छ ।’ साँगामा भक्तपुर प्रवेश गर्ने गाडीले धोएर मात्र प्रवेश गर्ने वाध्यकारी नियम लागु गर्नुपर्ने बताउँदै उहाँले अरनिको राजमार्ग उज्योलो बनाउने मात्र नभई सुरक्षित तथा सवारी साधनको पोलुसन मापन गर्ने कार्य समेत गर्नु पर्नेमा जोड दिनुभयो ।
आगामी २०७८ सालसम्ममा सूर्यविनायक नगरपालिकाका १० वटै वडाहरुमा पूर्ण सरसफाई घोषणा गरिसक्ने र २०८० सम्ममा नगरपालिकालाई नै पूर्ण सरसफाई भएको घोषणा गर्ने लक्ष्य रहेको उक्त योजना सार्वजनिक गरिएको छ ।




प्रतिकृया