विश्वकप छनोटका लागी प्रारम्भिक टोली घोषणा
प्रकाशित मिति
२०७६ श्रावण २२ गते, बुधबार ०७:५८
काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलअन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। नेपाली टोलीका प्रशिक्षक योहान कालिनले यसअघि बन्द प्रशिक्षणमा रहेका ३६ खेलाडीबाट मंगलबार ३१ खेलाडी छनोट गरेका हुन्। नेपाली टोलीले विश्वकप छनोटका लागि दुई महिनादेखि तयारी गरिरहेको छ।
यसअघि प्रशिक्षणमा रहेका पाँच जना खेलाडी बाहिरिएका छन्। बाहिरिने खेलाडीहरूमा कमल श्रेष्ठ, नीतिन थापा, सेसेहाङ आमदङ्गे, अमित तामाङ र मिक्चेन तामाङ रहेका छन्। विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा नेपालसहित विश्वकप खेलिसकेका अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्। दोस्रो चरणको छनोट खेल सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ तारिखसम्म हुनेछ ।
नेपालले छनोटको पहिलो खेल सेप्टेम्बर ५ तारिखमा कुवेतसँग खेल्नेछ। होम एन्ड अवेका आधारमा खेलिने छनोट खेलमा नेपालको दशरथ रंगशालाको निर्माण कार्य नसकिएकाले नेपालले दुवै खेल कुवेतमा खेल्ने तयारी गरेको छ। कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ तारिखमा उसैको मैदानमा खेलिने एन्फाले जनाएको छ। नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ।






प्रतिकृया