अमेरिका र तालिबानबीच दोहामा वार्ता
प्रकाशित मिति
२०७६ श्रावण २० गते, सोमबार ०८:०६
दोहा, अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता भइरहेको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ।
सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरेको अमेरिकाले अफगानिस्तानबाट आफ्ना हजारौं सैनिक फिर्ता गर्न चाहेको छ। अमेरिकाले तालिबान समूहले आतंकवादी संगठन अल–कायदा त्याग्नुपर्ने तथा इस्लामिक स्टेट (आईएस) जस्ता आतंकवादी संगठनका सदस्यहरूका लागि तालिबानले संरक्षण गर्न नहुने पूर्वशर्त राखेको छ। अमेरिका र तालिबानबीच शनिबार शुरु भएको यो आठौं चरणको वार्ता हो।
तलिबान स्रोतले अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका सहसंस्थापक मुल्लाह बरादरबीच प्रत्यक्ष भेटवार्ता गराउने तयारी भइरहेको बताएको छ। बरादरले तालिबानको राजनीतिक फाँटको नेतृत्व गरिरहेका छन्।
अमेरिकामा सन् २००० मा भएको आक्रमणको मुख्य दोषी अल–कायदाको सञ्जाललाई पक्षपोषण र मद्दत गरेको आरोपमा अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई सैनिक बलमा सत्ताच्युत गरेको थियो। अमेरिकाको ट्विन टावरमा अल–कायदाका लडाकुले विमान अपहरण गरी गरेको आक्रमणमा झण्डै तीन हजारको ज्यान गएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै वार्तामा धेरै प्रगति भएको र वार्ता अझै जारी रहेको बताएका छन्।
अमेरिकी विशेषदूत खलिलजादले पनि शुक्रबार नै तालिबान समूहसँग शान्ति सम्झौताका लागि प्रयास भइरहेको बताएका थिए। उनले तालिबानसँग तत्कालै अमेरिकी सेना फर्कने बारेमा सम्झौता नहुने पनि स्पष्ट पारेका थिए। शान्ति सम्झौतापछि भने अमेरिकी सेना फर्कन थाल्ने उनले बताए।
दोहा वार्ता शुरु हुनुअघि विशेषदूत खलिलजादले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग इस्लामाबादमा भेट गरी छलफल गरेका थिए। अर्कोतर्फ तालिबानसँग वार्ताका लागि अफगान सरकारले पनि अलग्गै वार्ता टोली गठन गरेको छ।






प्रतिकृया