नेकपाको पार्टी एकता प्रक्रियाले पूर्णता पायो
प्रकाशित मिति
२०७६ श्रावण १ गते, बुधबार ०८:५७
काठमाडौंः लामो छलफलपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकता प्रक्रिया टुंगिएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता निर्णयको १४ महिनाको प्रक्रियापछि पूर्णता पाएको छ। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको मंगलबारको छलफलले एकताको कामलाई निष्कर्षमा र्पुयाएको हो। बैठकमा अध्यक्षद्वयका साथसाथै महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी थिए। एकता प्रक्रिया टुंग्याउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताबीच ४ घण्टा लामो छलफल भएको थियो।
बैठकले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटाएको हो। नेकपा अध्यक्षद्वयले केही दिनअघि सार्वजनिक कार्यक्रममा नै असार मसान्तमा बाँकी काम सक्ने बताएका थिए। यसअघि ललितपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले आजै एकता प्रक्रिया टुंगिने बताएका थिए। महासचिव विष्णु पौडेलका अनुसार छिट्टै बस्ने सचिवालय बैठकमा सहमति प्रस्तुत गरिनेछ । दुई दलबीच ३ जेठ ०७५ मा एकता भएको थियो।





प्रतिकृया