संसद बैठक स्थगितः सत्तारुढ पार्टीकै नेता असन्तुष्ट
प्रकाशित मिति
२०७६ असार ३० गते, सोमबार ०४:०५
काठमाडौं, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव अस्वीकार गर्दै साउन ८ गतेसम्मका लागि संसद स्थगित गरिएकोमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेताहरुले असन्तुष्टि जनाएका छन्। दुई प्रतिपक्षी दलले संसदको नियमित प्रक्रिया स्थगित गरेर बाढीपहिरो पीडितका लागि सञ्चालित राहत तथा उद्धार कार्यमा केन्द्रित भएर छलफल गर्नुपर्ने भन्दै सोमबार संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।
तर संसद सचिवालयले सूचना टाँसेर साउन ८ गते १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिदियो । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सांसदहरु बाढीपहिरो र डुबानपीडितको उद्धारमा जानुपर्ने भएकाले संसद बैठक स्थगित गरिएको जानकारी दिनु भयो । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई कसैले तर्साएर संसद स्थगित गर्न लगाएको दाबी गर्नु भएको छ ।
प्रतिपक्षीबाट विरोध भइरहँदा सत्ता पक्षकै वरिष्ठ नेता माधवकुमार नेपालले राहत र उद्धारका लागि पर्याप्त छलफल जरुरी भएका बेला संसद स्थगित गरिएकोमा आश्चर्य प्रकट गरे। ‘संसद किन स्थगित भयो? त्यो तपाईँहरु अनुमान गर्नुस’, नेता नेपालले भन्नुले भयो, ‘सायद सरकार राहत र उद्धारमा जुटेकाले हुन सक्छ । यद्यपि देशमा आएको प्राकृतिक विपत्तिबारेमा पर्याप्यत छलफल जरुरी थियो। अब त्यो हुने अवस्था रहेन।’






प्रतिकृया