• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

४ करोड ठगीको आरोपमा राई पक्राउ

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०८:४८

काठमाडौं स् काठमाडौंको सामाखुसी टाउन प्लानिङस्थित ईगल हन्टर ओभरसिज सर्भिसेज प्रा.लि.का सञ्चालक छविलाल कुमार राई पक्राउ परेका छन् । सिसेल्स र माल्टामा रोजगारी दिलाइदिने भन्दै ४ करोड बढी ठगीको आरोप लागेका उनी लुकिछिपी काम गर्दै आएका थिए ।
सिसेल्सको जेल गार्ड लगायतको रोजगारीको नाममा ठगी भएपछि पीडितहरुले उक्त म्यानपावर कम्पनीका सञ्चालककी श्रीमतीलाई गत बैशाख ३० गते नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा बुझाएपछि राई फरार रहेका थिए । प्रहरीका नजरमा फरार रहेपनि केही दिनअघि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा पुगेर आफूद्वारा ठगिएका पीडितहरुलाई रकम तिर्ने कागज गरेका थिए । त्यसपछि राई बसुन्धारास्थित ईशान हस्पिटल पछाडी बेनामी कार्यालय खोलेर पुरानै ठगी धन्दा चलाइरहेको बेला पीडितहरुको उजुरीको आधारमा बिहीबार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।

National Life

वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक योगेश सिंह थापाले म्यानपावर सञ्चालक राई पक्राउ परेको मध्यान्हलाई बताउनुभयो । राईलाई वैदेशिक रोजगार विभागको पक्राउ पूर्जीको आधारमा बिहीबार पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि शुक्रबार बुद्धनगरस्थित विभाग पठाइने नायव उपरीक्षक थापाले जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४ को व्यवस्था अनुसार वैदेशिक रोजगारीको संस्थागत ठगीको उजुरी लिने, अनुसन्धान गर्ने र पीडितको ठगिएको रकम भराइदिने र म्यानपावर कम्पनीलाई कारबाही गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई रहको छ । जसका लागि राईलाई विभाग पठाइने छ । गत बैशाखमा पीडितहरुद्वारा नै नियन्त्रणमा आएकी म्यानपावर सञ्चालककी श्रीमतीलाई श्रीमानको खोजी गरी खवर गर्ने शर्तमा प्रहरीले छोडेको थियो । उक्त म्यानपावर कम्पनीविरुद्ध वैदेशिक रोजगार विभागमा ६८ जनाले उजुरी दिएका छन् । अन्य धेरै युवाहरुको ठूलो रकम फंसेको समेत आशंका गरिएको छ ।

प्रतिकृया