आज धान दिवस मनाइँदै, कृषीमा समर्पित सबैमा प्रधानमन्त्रीको शुभकामना
प्रकाशित मिति
२०७६ असार १५ गते, आईतवार १०:१२
काठमाडौं । आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक ट्विट गर्दै भनेका छन्,‘‘कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औधोगिक बनाऔं । कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम छ, यसलाई सफल पारी उत्पादन र उत्पादकत्व बढाऔं । कृषि कर्ममा समर्पित सबै दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना ।’’
यस्तै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि सन्देशमा भनेका छन्,‘‘मुठी खाएर मुरी उब्जाउने महिनाको मध्यमा पर्ने अर्थात् असार १५, राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्वको रुपमा मनाउने आजको दिनमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’’
यस्तै
मध्यअसार आइपुग्दा पनि पर्याप्त पानी नपर्दा यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । हालसम्म नेपालभर जम्मा ११.६४ प्रतिशत मात्र रोपाइँ भएको छ । यो गत वर्षको तुलनामा ३.४५ प्रतिशत कम हो । गत वर्ष असार १५ को अवधिमा देशभर १५.०९ प्रतिशत रोपाइँ भएको थियो । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार हाल उच्च पहाडमा २६.३१ प्रतिशत र मध्य तराईमा १५.१२ प्रतिशत रोपाइँ भएको छ । अन्नको भण्डार मानिने तराईमा जम्मा ९.५९ प्रतिशत मात्र रोपाइँ भएको छ । जबकी तराईमा धान रोपाइँ १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रमा हुन्छ । तर, १५ असारसम्म जम्मा १ लाख ५ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।
सरकारले तामझामका साथ धान दिवस र रोपाइँ महोत्सव मनाइरहँदा धेरैजसो किसानहरुले मल र पानीको अभावका कारण खेती गर्न पाएका छैनन् । अधिकांश खेत बाँझै छन् । सुक्खाका कारण खेतमा धाँजा फाटेका छन् । धानका बेर्नाहरु पनि खेतमै सुक्न थालेका छन्





प्रतिकृया