गुठी सम्बन्धी विधेयकका बारेमा तथ्यहिन हल्ला बाहिर आयो : सांसद पोखरेल
प्रकाशित मिति
२०७६ जेष्ठ ३० गते, बिहीबार ०६:३५
पोखरेल(भिडियोसहित) २०७६ जेष्ठ ३०, विहिबार काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य कृष्णभक्त पोखरेलले गुठी विधेयकका बारेमा तथ्यमा आधारित भन्दा पनि गलत सन्देश दिएर चर्चा गर्न थालिएकोमा आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पोखरेलले भन्नुभयो, ‘विगत केही दिनदेखि ग्लोबल शैलीबाट जे तथ्य हो त्यसतर्फ इंगित नै नगरी गुठी विधेयकका बारेमा जुन चर्चा गरेर सिङ्गो राष्ट्रमा गलत सन्देश दिने काम भएको छ, त्यसतर्फ संसदको ध्यान आकर्षण गर्न चाहन्छु ।’ सांसद पोखरेलले गुठी सम्बन्धी विधेयक अहिले राष्ट्रिय सभामा दर्ता भई छलफलका क्रममा रहेका बेला प्रतिनिधि सभामा यसको चर्चा गरिनु असान्दर्भिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदको राष्ट्रिय सभाका दर्ता भएर अब छलफलको क्रममा रहेको विधयेकका बारेमा प्रतिनिधि सभाका यो ढंगबाट छलफल गर्ने र गलत सन्देश दिने कुरा पार्लियामेन्ट्री सिस्टमभित्र हामीले अबलम्बन गरेको डेमोक्रेसीभित्र पर्छ ?’ नेपालको संविधानले नै गुठी सम्बन्धी व्यवस्था संघीय कानुन बमोजिम हुनेछ भनिएकाले पनि अहिले ल्याएको विधेयक संविधान अनुरुप भएको सांसद पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘संविधानको धारा २९० ले गुठीको मूलभूत मान्यतालाई असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीका अधिकार सम्बन्धमा संघीय संसदले आवश्यक कानुन बनाउनुपर्नेछ भनेर लेखिएको छ । यसले भनेको छ कि, गुठी सम्बन्धी अन्य व्यवस्था संघीय कानुन बमोजिम हुनेछ । यो संविधानको प्रावधान अनुसार सरकारले गुठी विधेयक संसदमा ल्याएको छ ।’ सांसद पोखरेलले यो विधेयक प्रतिनिधि सभामा आएपछि बृहत छलफल गर्न सकिने बताउँदै भन्नुभयो, ‘भोलिका दिनमा प्रतिनिधि सभामा यो विेधयक आउँदा कसरी सार्वभौम बनाउने ? जनताका प्रतिनिधिहरुको विचारलाई कसरी समाविष्ट गर्ने ? भन्ने अधिकार हुँदा हुँदै प्रत्येक दिन यो त धर्मसँस्कृतिको विरुद्धमा छ भनेर भन्नु गलत भएको छ ।’ यो विधेयक धर्म संस्कृतिको रक्षाका लागि छ भन्दै सांसद पोखरेलले यो विधेयकको धारा २६ मा भाषा, धर्म सँस्कृतिको रक्षा, धार्मिक स्थलमा सम्पन्न हुने कार्यको लागि ल्याएको बताउँदै भन्नुभयो,‘यो विधेकयमा धार्मिक स्थल व्यवस्थापन समिति बनाइने छ भनेर दफा २८ मा व्यवस्था गरिएको छ ।’ विधेयकको प्रस्तावनामा मै गुठीको मान्यतालाई अबलम्बन गरिने उल्लेख गरिएको बताउँदै सांसद पोखरेलले गुठीको मूलभूत मान्यता, यसको मान्यताका बारेमा छलफल गर्न सकिने बताउनुभयो । पोखरेलले प्रश्न गर्नुभयो,‘राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी व्यवस्थापन गर्नर भन्ने कुरा हामीले अबलम्बन गरेको कानुन वा संविधान भन्दा बाहिर छ ? के सामाजिक न्यायको विपक्षमा हामी छौ ?’ सामाजिक न्यायको विरुद्धमा गुठी सम्बन्धी विधेयक आएको हो भने आफूहरुलाई स्वीकार्य नहुने बताउँदै पोखरेलले भन्नुभयो, ‘विधेयकलाई अरु समृद्ध गर्न जरुरी छ भने त भोलि विरोधको सूचना दिने संसदमा यी सबै अधिकार हुँदाहुँदै यसले धर्म त बरबार्दै भयो, कम्युनिष्टहरु धर्म मान्दैनन् भनेर यस ढंगको गलत प्रचार गरिनुले संसदको गरिमा बढ्ने नभई घट्ने काम हुन्छ ।’





प्रतिकृया