• ४ असोज २०८३, आइतबार
  • १ः५० राती

पाँचथरका बिरामीलाई झापाका अस्पतालको भर

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०१:२७

पाँचथरस्थित जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा बिरामीको उपचारमा समस्या भएको छ।

National Life

६ जना विशेषज्ञ हुनुपर्ने जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरका रुपमा डा बुद्धिबहादुर थापा मात्रै एक्ला विशेषज्ञ हुन्। थापा अस्पतालका सुपरिटेन्डेन्ट पनि हुन्।

बाल, स्त्री, डेन्टल लगायतका सेवा दिइरहेको जिल्ला अस्पतालमा करारमा सहित गरी जम्मा ४५ कर्मचारी छन्। डा थापा सहित अस्पतालमा चार चिकित्सक कार्यरत छन्। कर्मचारी समायोजनको पत्र सबैजसो चिकित्सकले बुझिसकेकाले अस्पताल चिकित्सकविहिन हुने चिन्ता व्यक्त गर्छन् सुपरिटेन्डन्ट थापा।

Classic Tech Mobile
Classic Tech Desktop

१५ बेडका लागि सहज रुपमा सञ्चालन गर्ने क्षमता रहेको अस्पतालले जेनतेन ३५ बेड चलाइरहेको छ। गर्मीको समयमा ५० बेडहरु सञ्चालन गर्नुपर्ने बाध्यता रहेको सुपरिटेन्डेन्ट थापाले जानकारी गराए। उनले थपे, ‘बिरामी बढेसँगै भुइँमा राखेर पनि उपचार गराउनुपर्छ।’

अस्पतालमा जनशक्तिको अभाव त छ नै, कार्यरत कर्मचारीले समयमा तलब समेत प्राप्त गरेका छैनन्। थापाले भने, ‘तलब खुवाउनै आन्दोलन गर्नुपर्ने स्थिति छ।’ स्थानीय तहले जिल्ला अस्पतालको लागि ध्यान नदिएको थापाले गुनासो गरे।

औषधि किन्नका लागि आवश्यक बजेट अभाव रहेको सुनाउँदै थापाले जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने औषधि समयमा उपलब्ध नगराएको बताए।

५० बेडको जिल्ला अस्पताल बनाउने सरकारी नीति अनुरुप जिल्ला अस्पतालको भवन बनिरहेको छ। तर, ठेकेदारबीचको आन्तरिक द्वन्द्वले समयमा अस्पताल निर्माण हुन सकेन। थापाले भने, ‘१४ महिना भित्र नयाँ भवन बन्ने सम्भवना छ।’

जिल्लामा स्वास्थ्य कार्यक्रम र औषधि वितरण गर्ने स्वास्थ्य कार्यालय पाँचथरले प्रभावकारी ढंगले कार्य गर्न सकेको छैन। ४० वटा स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य केन्द्रमा खोप, पोषण तालिम लगायतका क्षेत्राधिकार रहेको स्वास्थ्य कार्यालयमा कर्मचारी अभाव छ। कार्यालय प्रमुख सहित तथ्यांक सहायक, ल्याब टेक्निसियन र पब्लिक हेल्थ नर्स खाली छन्।

गम्भीर बिरामी झापा पुर्‍याउनुपर्ने बाध्यता
८ स्थानीय तह रहेको पाँचथरका अधिकांश भाग ग्रामीण क्षेत्र छन्। जिल्ला अस्पताल सहित निजी अस्पतालमा समर्पित र पाथिभरा जिल्ला सदरमुकाम फिदिममा सञ्चालित छन्। समर्पितमा २५ बेड क्षमता छ भने पाथिभराले पोलिक्लिनिकका रुपमा सेवा दिइरहेको छ। सञ्चालित सबै अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा गम्भीर बिरामीलाई पाँच घण्टाको दूरीमा रहेको झापाको अस्पतालमा ल्याउनुपर्ने बाध्यता छ।

समर्पितमा एमडी डाक्टर एक जना मात्रै छन्। मेडिसिटी अस्पतालसँग उपचार सम्झौता गरेको समर्पितले काठमाडौंदेखि डाक्टर भित्र्याएर महिनाको एक पटक उपचार सेवा दिंदैआएको छ। विशेषज्ञ चिकित्सकलाई आवश्यक पारिश्रमिक उपलब्ध गराउन नसक्दा स्थायी रुपमा डाक्टर राख्न नसकिएको समर्पित अस्पतालका मेडिकल अधिकृत विकासचन्द्र सुवेदीले जानकारी गराए।

पाँचथर सहित ताप्लेजुङ, तेह्रथुम र इलामका बिरामीहरु उपचारका लागि फिदिम पुग्ने गरेका छन्। विशेषज्ञ डाक्टरको अभावमा एम्बुलेन्सबाट झापा पुर्‍याउँदा भाडा मात्रै सात हजार बढी तिनुपर्ने बाध्यता रहेको स्थानीयहरुले सुनाए।

प्रतिकृया