फास्टट्रयाकमा अनियमितता आशङ्का : लेखा समितिपछि विकास समिति पनि अध्ययनमा लाग्यो
प्रकाशित मिति
२०७७ चैत्र ९ गते, सोमबार ०४:३५
काठमाडौं: नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजनामा उत्पन्न समस्याका विषयमा प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले अध्ययन गर्ने भएको छ ।
संसद्को लेखा समितिले हाल सो द्रुत मार्गको दुई वटा ठेक्कामा अनियमितता भएको आशङ्कामा अध्ययन गरिरहेकोमा संसद्कै विकास तथा प्रविधि समितिले द्रुत मार्गमा देखिएका समस्याहरूको अध्ययन गर्न समिति बनाएको हो ।सो आयोजनाका २५ र २७ अर्बको दुई वटा ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरीपछि लेखा समितिले छानबिन गर्दै आइरहेको छ ।
सोमबार बसेको विकास तथा प्रविधि समितिको बैठकले सांसद गणेश पहाडीको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य छन् । समितिले दुई महिना भित्रमा आयोजनाका बारेमा अध्ययन गर्ने छ ।
समितिले द्रुत मार्ग निर्माणमा भएका ठेकेदार छनोट प्रक्रिया, खोकना मुआब्जा विवाद लगायत निर्माणका क्रममा देखिएका लापरबाही र समस्याहरूको अध्ययन गर्ने बताइएको छ । समितिका सदस्य तोकिएका सांसद लामाले तोकिए अनुसार काम भए नभएको समितिले हेर्ने जानकारी दिए । यस्तै द्रुतमार्गमा भएका समस्याहरूका विषयमा पनि समितिले समाधानका लागि सहजीकरणको भूमिका निर्वाह गर्ने जानकारी दिए ।
‘तोकिए अनुसार काम भए नभएको समितिले हेर्छ, आयोजनामा देखिएका समस्याहरूका विषयमा पनि समितिले समाधानका लागि सहजीकरणको भूमिका निर्वाह गर्छ,’ लामाले भने । लेखा समितिले भने छानबिनका क्रममा रक्षा मन्त्रालयसँग प्रतिक्रियासहित आवश्यक कागजात मागेर अध्ययन गर्दै आइरहेको छ ।






प्रतिकृया