सरकार बदनामको भट्टी पसल जस्तै गनायो :कांग्रेस उपसभापति निधि
प्रकाशित मिति
२०७७ मंसिर २९ गते, सोमबार ०५:१९
सुवास कुँवर
भक्तपुर, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार बदनामको भट्टी पसल जस्तै गनाएको बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरले आज सुर्यबिनायकमा आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै उपसभापति निधिले कांगे्रस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दा समेत सभापति देउवाकै बदनाम हुन खोज्नुले यसको पुष्टि गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो ,“जसरी राम्रै मान्छे पनि भट्टी पसलमा गएर फर्कदा शंका आशंकाको दृष्टिले हेरिन्छ ,त्यसै गरी सरकार प्रमुखलाई समेत कसैले भेट्दा यस्तै अबस्था आउनु दुर्भाग्य हो।यसबाट पनि पुष्टि हुन्छ कि सरकार देश र जनताको नजरमा कति बदनाम भैसकेको छ ।”
सरकारलाई कोरोना २०७७ को उपमा दिंदै उपसभापति निधिले मानव स्वास्थ्यमा कोरोेना घातक भए जस्तै राजनीतिक संस्कार, संबिधान, देश र जनताका लागि बर्तमान सरकार पनि कोरोना जस्तै घातक रहेको बताउनुभयो ।
प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक रहेको बताउँदै उहाँले सरकारको अत्याचार र गैरजिम्मेवार क्रियाकलाप जारी राखेपछि कांगे्रस सडकमा आउन बाध्य भएको बताउनुभयो ।
सरकारप्रति निरासा बढाउने काम प्रम ओलीले नै गरेको बताउँदै पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताउनुभयो ।
उहाँले पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व दिएको तथा प्रतिपक्षका रूपमा जिम्मेवार भूमिका निर्वाह गर्दै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको आरोप लगाउनुभयो ।
उपसभापति निधिले कोरोनाको महामारीको समयमा सडकमा आउनु कांग्रेसको इच्छा होइन बाध्यता हो भन्दै पार्टीले धैर्य गर्दा पनि यस्तो बाध्यात्मक अवस्थामा सरकारले पु¥याएको बताउनुभयो ।सरकारले एकदलीय शासन जस्तो गरिरहेको भन्दै बर्तमान सरकारले सत्तामा बस्ने राजनीतिक र नैतिक अधिकार गुमाएको बताउनुभयो ।
नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को समर्थक वा कार्यकर्तालाई चाहीँ जस्तो सुकै अपराध गरेपनि छुट दिने तर, कांग्रेस समर्थकलाई भने झुटा मुद्धा लगाउने गरिएको उहाँको आरोप छ ।
निधीले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा बसेर षडयन्त्र बुन्न व्यस्त रहेको आरोप लगाउँदै भ्रष्टचारीलाई आफ्नै घरमा राखेर प्रधानमन्त्री ओलीले सम्मान गरेको र अख्तियार, अदालत र सर्तकर्ता केन्द्र आफै हुँ जस्तो ओलीले गरेको बताउनुभयो ।
यो सरकारले के गरिरहेको छ हामीले भन्नु पर्दैन भन्दै उहाँले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा प्रस्तुत गरेको प्रतिवेदन नै कापीm रहेको बताउनुभयो ।
मन्त्रालयमा निहित अधिकार समेत प्रधानमन्त्रीले लिएर प्रयोग गर्नू कहाँको संघीयता हो ? भन्दै उहाँँले प्रश्न गर्नुभयो । अब पनि सरकार सच्चिदैन भने कांग्रेसले आन्दोलनको आँधीबेरी सिर्जना गरेर ठेगान लगाउने निधिले चेतावनी दिनुभयो ।
कार्यक्रममा कांगे्रस केन्द्रीय सदस्य सीता गुरुङ,आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल,जिल्ला सभापति दुर्लभ थापा,प्रदेश साँसद कृष्णलाल भँडेल,निबर्तमान जिल्ला सभापति गणेशमान चक्रधर,तरुण दलका पुर्व अध्यक्ष बिनोद कायस्थ ,जिल्ला सचिब उद्धब शिलवाल,जीवन खत्री,नारायणभक्त खायमली, उद्धव खड्का, तरुण दलका अध्यक्ष राजु थापा ,महिला संघकी अध्यक्ष सरु बाँनिया लगायतले कम्युनिष्ट सरकारले जनविरोधी गतिविधि गरेकाले आन्दोलनको विकल्प नभएको बताउनुभयो ।
सल्लाघारीबाट सुरु भएको बिरोध र्याली सुर्यबिनायमा गई सभामा परिणत भएको थियो । बिरोध र्याली तथा सभामा कांग्रेसका सैयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।







प्रतिकृया